काठमाडौं– नेपाल प्रहरी र आर्मीका भगौडाका साथै गुन्डा नाइके घैटें समूहका एक-एकजना गरी ३ जनालाई प्रहरीले पेस्तोल तथा अन्य हतियारसहित पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले शनिबार साँझ घरभित्र प्रवेश गरेर लुटपाट गर्न खोजेका बेला उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेको भुम्जु गाउँपालिका–८ घर भई हाल काठमाडौं चाबहिल बस्ने ३० वर्षीय अन्जन उप्रेती, धादिङ्ग गल्छी घर भई कंलकी बस्ने वर्ष ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी र गल्छी नै घर भई कलंकी बस्ने २५ वर्षीय केदारप्रसाद अधिकारी छन्।
पक्राउ परेका उप्रेती गुन्डा नाइके कुमार घैंट समूहका सदस्य भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनको साथबाट गोली लोड भएको एउटा चाइनिज पेस्तोल बरामद गरेको छ।
त्यसैगरी जग्गा कारोबार समेत गर्ने अर्जुन अधिकारी सार्वजनिक अपराधमा २ पटक पक्राउ परेर छुटेका व्यक्ति भएको महानगरीय प्रहरी परिसरका एसएसपी बसन्त लामाले बताए।
केदार अधिकारी भने प्रहरी र आर्मीका भगौडा हुन्। उनले नेपाल प्रहरीमा २ वर्ष जागिर खाएर छाडेका थिए। पछि आर्मीमा ३ वर्ष जागिर खाएर भागेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
प्रहरीले उनीहरूको साथबाट लोडेड चानिइज पेस्तोल, खुकुरी, तरबार समेत बरामद गरेको छ।
उनीहरु हातहतियार लिएर शनिबार साँझ जडिबुटीस्थित गणेश श्रेष्ठको घरमा लुटपाट गर्न प्रवेश गरेका थिए। हतियारसहित लुटपाट गर्न लागेको सूचना पाएपछि प्रहरी निरीक्षक एलिजा गिरीको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरूले तीन दिनदेखि श्रेष्ठको घर लुट्न खोजेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।