काठमाडौं- २०७२ बैसाख १२ को भूकम्प र त्यसपछिका परकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेस्रो वर्ष पूरा भएको अवसरमा आयोजित तीनदिने फोटो प्रदर्शनीको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज उद्घाटन गरे।

प्रदर्शनी शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रहरुमा भइरहेका वास्तविक कामहरु जनतासमक्ष पुर्याउन थप यो प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। पुनर्निर्माण हुने धरहरा परिसरमा भूकम्प, राहत, उद्धार, पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका गतिविधिलाई समेटेर संग्रहालय राख्ने योजना रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले फोटो, भिडियो, अडियो लगायतले नेपालमा भूकम्पछिको अवस्था र पुनर्निर्माण सम्बन्धी ज्ञान र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुर्याउने धारणा राखे।

भूकम्पले पुर्याएको क्षतिको स्मरण, पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी भएका गतिविधि तथा कार्यहरू झल्काउनुका साथै ती कार्यबाट प्रभावितहरुले कसरी लाभ लिन सके भन्ने देखाउनु यो फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना, युरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को सहकार्यमा सुरु प्रदर्शनी पुस १३ गतेसम्म चल्नेछ।

विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका गरी करिब एक सय फोटोहरु राखिएको छ।









तस्बिरहरु : पिजे क्लब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।