बैतडी- अपरिचित व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेका छन्। उनकी २१ वर्षीया बुहारी लक्ष्मी घाइते छिन्। प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ।
मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन्। टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेटिएको छ। घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना भएको हो।
लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए।
लक्ष्मीका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।