जनकपुर- हत्या र विभिन्न अपराधिक घटनाका फरार एक अभियुक्त जनकपुरबाट ११ वर्षपछि पक्राउ परेका छन्। हत्या, डाँका तथा अपहरणजस्ता अपराधिक घटनाका फरार महोत्तरी बर्दिवास नगरपालिका ७ प्रेमनगर घर भएका ३६ वर्षीय मकेश्वर महतो पक्राउ परेका हुन्।
प्रहरीले सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष टोलीले जनकपुरधाम १४ पिडाडी चोकबाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपेन्द्र शाहीले जानकारी दिए।
महतोविरुद्ध धनुषा तथा महोत्तरीको विभिन्न स्थान गरी चार कर्तव्य ज्यान, डाँका र अपहरण सम्बन्धी मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।
उनलाई २०६८ पुस २ गते महोत्तरीको एक अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले ९ वर्ष कैद र १ लाख ५ हजार जरीवानाको सजायसमेत सुनाएको छ।
यस्तै लागुऔषध घटनाका फरार अभियुक्त महोत्तरी एकडारा गाउँपालिका वडा नं ३ मा बस्ने महाजन दास तत्मालाई पनि प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ।
२०५७ कात्तिक ४ गते तत्माको घरबाट अवैध लागुऔषध गाँजा १५९ किलो र गाँजा थिच्ने फलामको मेसिन १ थान बरामद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।