चितवन– भरतपुरका लक्ष्मण र लक्ष्मी बुढाथोकीले मकै पोलेर बेच्न थालेको १९ वर्ष पुगिसकेको छ। यो बीचमा बुढाथोकी दम्पतीले मकै बेच्ने स्थान आडैको सडक हुँदै धेरै सवारी र पाइलाहरु गुज्रिसकेका छन्। उनीहरुको पनि समय स्थीर भने पक्कै रहेन।
समय गुज्रियो, समयसँगै अहिले बुढाथोकी दम्पतीको अवस्था पनि बदलिएको छ। सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण बनेका छन् बुढाथोकी दम्पती। सडक किनारमा मकै पोलेरै यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन्।
बुढाथोकी दम्पती भरतपुर महानगरपालिका–१२, वसन्त चोकका स्थायी बासिन्दा हुन्। भरतपुर अस्पतालको चोकमा पुग्ने हो भने यी लक्ष्मी बुढाथोकीलाई अहिले पनि मकै पोलेर बेचिरहेको भेट्न सकिन्छ। उनका श्रीमान लक्ष्मणले पहिले ठेलामा मकै पोल्ने गरे पनि अहिले बालमन्दिर नजिकै चोकमा मकै पोल्दै आएका छन्।
लक्ष्मी सम्झिन्छन्, ‘हामीले यो व्यवसाय सुरु गरेको १९ वर्ष भयो, जुग बित्याे, तर यही कमाइले नै तीन सन्तान हुर्किए, घर बनाइयाे।’
जेठी छोरीको विवाह भइसक्यो भने एक छोरा र कान्छी छोरी कक्षा ११ मा पढ्दै छिन्। परिवारको पालनपोषण, पढाइ, विवाह दानसँगै जग्गा खरिद गरेर घर बनाउन उनीहरु सफल भएका हुन्।
जिल्लाको टाँडी, शुक्रनगर र पूर्वी नवलपरासीको गैँडाकोटबाट मकै ल्याएर श्रीमान् श्रीमती दुबैले मकै पोलेर बेच्दै आएका छन्। पहिले ठेलामा मकै बेच्दा केही राम्रो भए पनि अहिले एक ठाउँमा मात्र बसेर मकै बेच्दा पहिलाको जस्तो कमाइ हुन नसकेको लक्ष्मीले बताइन्।
आफूले विवाह गर्दा श्रीमानले रिक्सा चलाउने गरेको भए पनि पछि दुवै जनाले मकै बेचेर बस्न थालेको लक्ष्माीले सुनाइन्।
लक्षी भन्छिन्, ‘श्रीमानको रिक्सा चलाइबाट कमाइ कम हुँदै गएपछि आफूले मकै पोल्न थालें। पछि उहाँले पनि मकै पोल्न थाल्नुभयो।’
जाडोको समयमा १ सय ५० घोगासम्म मकै बिक्री हुुने गरेको बताउँछिन्। भन्छिन्, ‘गर्मीमा त ५० घोगा पनि बिक्न कठिन हुन्छ।’
सडकको धुलो, घाम तथा धुँवामा काम गर्दा दुःख हुने भएपनि मकै बेचेको आम्दानीबाट बुढाथोकी दम्पती सन्तुष्ट छन्। अहिले दैनिक एक जनाको आम्दानी २ हजार रुपैयाँ हाराहारी हुने गरेको लक्ष्मीले बताइन्।
‘बिहान जाडोमा गएर मकै ल्याउनुपर्छ, दुःख छ, दुःख भएर के गर्ने काम गर्नै पर्यो’, लक्ष्मीले दुःखेसो पोखिन्।
अहिले स्थानीय सरकारले सडकमा मकै पोलेर बेच्न नदिँदा व्यवसाय सञ्चालनमा अप्ठेरो परेको लक्ष्मीले सुनाइन्। भनिन्, 'महानगरपालिकाले हामीलाई मकै पाेल्ने छुट्टै स्थानकाे व्यवस्था गरिदिए धेरै राहत हुनेथियाे।'
विदेशमा गएर सङ्घर्ष गर्नुभन्दा जति दुःख भए पनि आफ्नै देशमा काम गर्दा आनन्द आउने उनको बुझाइ छ। भन्छिन्, ‘आफ्नो देशमा मेहनत गर्यो भने अवश्य सफल भइन्छ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।