कलैया– निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गरेका छन्।
आज कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरुले व्यापकरुपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गरे।
संविधान कार्यान्वयन गर्ने पाटोको रुपमा स्थानीय निर्वाचन भइरहेको बताउँदै पौडेलले योग्य, तथा कुशल उम्मेदवार छान्न जनतालाई आग्रह गरे।
सामाजिक सद्भावमा खलल पुग्ने काम कोई कसैबाट भएमा त्यसको परिणाम गलत हुने तर्क गर्दै आयुक्त पौडेलले आपसी सद्भाव कायम गर्न सबै राजनीतिक दल तथा जनताले कार्य गर्नुपर्नेमा जोड दिए।
प्रदेश नं २ मा निर्वाचन सामग्री पठाइदिएको बताउँदै मत हाल्नलाई कुनै कठिनाई नहुने बताए। सो अवसरमा दलहरुले आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयुक्त पौडेलले आयोगले प्रदेश नं २ को चुनावलाई सम्वेदनशीलरुपमा लिएको बताए। नेपाल–भारतबीचको खुला सिमाना, सशस्त्र तथा भुमिगत समुहहरु भएको हुँदा संवेदनशील भएपनि दरिलो सुरक्षा प्रबन्ध गरी निर्वाचन गराउनमा कुनै कसर वाँकी नराख्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
स्थानीय तहको अन्तिम चुनाव भएको हुँदा कतिपय दलहरुले चुनाव जित्न प्रतिष्ठासँग जोड्न थालेको हुँदा यस्तो अवस्थामा आयोग निकै संवेदनशील भएर अगाडि बढिरहेको पौडेलको भनाई छ। कसैलाई काखा कसैलाई पाखा हिसाबले समाचार प्रशारण प्रकाशन नगर्न पनि उहाँले पत्रकारहरुलाई आग्रह गरे।
पार्टीमुखी पत्रकारिताभन्दा माथि उठेर कलम चलाउन उनले आग्रह गरे। सरकार र आयोगवीच आचारसंहिता लगाएको विषयमा केही मतमतान्तर भइरहेको छ नि भन्ने प्रश्नको जवाफमा आयुक्त पौडेलले निर्वाचनको एकसय २० दिन अगाडि आचारसंहिता लगाउनुपर्ने बाध्यता भएको हुँदा आचारसंहिता लगाउनु परेको बताउँदै सरकारलाई केही अप्ठयारो परेको अवस्था छ भने निर्वाचन आयोगसँग बसेर गाँठो फुकाउन आयोग तयार रहेको जानकारी दिँदै आचारसंहिताको पालन गर्न सबैलाई आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।