काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गैंडाको खागसहित ६ जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान सामाखुसीस्थित सडकमा गैंडाको खाग बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाका खटिएको प्रहरीले खागसहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँको साविकको कोटदरबार गाविस– ९ घर भई मित्रनगर काठमाडौं बस्ने ३३ वर्षीय मिनलाल राना, गोरखाको सुलिकोट गाउँपालिका–६ घर भई बनस्थली बस्ने २१ वर्षीय किरण अमगाई, सोही ठाउँका २० वर्षीय चित्रबहाखदुर बराम, गोरखा नगरपालिका–९ ताप्ले घर भई बालाजु बस्ने २४ वर्षीय सुदीप दियाल, गोरखाको साविकको ताप्ले गाविस–३ घर भई डल्लू बस्ने ३५ वर्षीय पमबहादुर परियार र सोही ठाउँ घर भई डल्लू बस्ने २२ वर्षीय सरोज विक छन्।
प्रहरीले मिनलाल रानाले लगाएको पाइन्टको दायाँ खल्तीबाट गैंडाको एक वटा खाग बरामद गरेको जनाएको छ। पक्राउ परेका ६ जनालाई प्रहरीले कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिवन पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।