काठमाडौं– दलाललाई ८४ लाख रुपैयाँ बुझाएर अमेरिका हिंडेका दुई युवा बिचल्लीमा परेका छन्। बिचल्ली पर्नेमा टासी शेर्पा र आङछिरिङ शेर्पा छन्। उनीहरु नाताले मामा–भान्जा समेत हुन् ।
दोलखाको बिगु गाउँपालिका–७ घरभई काठमाडौं महाँकाल बस्दै आएका छिरी शेर्पा र उनकी श्रीमती छिन्डु शेर्पाले अमेरिकामा राम्रो काम र दाम हुन्छ भन्दै उनीहरुलाई अमेरिका पठाएका थिए।
८४ लाख रुपैयाँ लिएर शेर्पा दम्पत्तिले मामा भान्जालाई भिजिट भिषा बनाएर नेपालबाट भारत, दुबई, भियतनाम, ब्राजिल, मेक्सिको हुँदै टाँसीलाई अमेरिका पुर्याउन सफल भएका थिए। आङछिरिङ भने अमेरिका प्रवेश गर्न नसकेर मेक्सिकोमै अलपत्र छन्।
मेक्सिकोबाट गैरकानुनी रुपमा समुद्री बाटो हुँदै अमेरिका पुगेका टाँसीलाई त्यहाँको प्रहरीले पक्राउ गरी जेलमा राखेको पीडितले बताएका छन्।
आफ्नो छोरा र भाइलाई राम्रो काम र दाम हुन्छ भनेर प्रलोभन देखाई अमेरिका पठाइदिन्छु भनेर अलपत्र पारेको भन्दै डोमा शेर्पाले उजुरी दिएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठगी गर्ने दम्पत्तिलाई पक्राउ गरेको जनाएको छ।
डोमाले भाइ र छोरालाई नेपाल झिकाउनुपर्ने र आफ्नो रकम फिर्ता पाउनुपर्ने माग राखेकी छिन्। रकम फिर्ता गर्न नसकेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।