काठमाडौं- जुटको द, टानको द, कान, रामे...
कान्तिपुर यातायातभित्र रहेका चार युवती यस्तै शब्द कोडभाषामा गफ गर्छन्।
हाइलाइट्स हेयर। ग्रन्ज पाइन्ट। आर्मी कलरको ज्याकेट। रातो मफलर। घ्यु कलरको टोपी। मिलेको जिउडाल। राम्रै परिवारमा हुर्किएका शिक्षित युवती जस्ता।
ब्रान्डेड कपडा, आँखामा कालो गगल्स अनि सभ्य बोलीचालीले कसैलाई शंकाको पुट दिँदैन।
कोडभाषा बुझेको प्रहरीलाई उनीहरुको लवाइखवाइले एकछिन ब्याक गराउँछ। गोगंबुदेखि महाराजगन्ज चोकसम्म पछ्याउँदा प्रहरी पनि हो/होइन भन्ने छुट्याउन सक्दैन।
‘कोडभाषाले हो पक्राउ गर भन्छ, लवाइखवाइ र बोलीचालीले होइन भन्छ,’ एक प्रहरीले सुनाए, ‘हामी केहीबेर दोधारमा पर्यौं।’
जब प्रहरी महाराजगन्ज चोक पुग्छन्। उनीहरुको गतिविधिले प्रमाण फेला पर्दै जान्छ। सिकारी कुकुरझैं हाउभाउ बोलीचाली नियालेको प्रहरीहरु चनाखो भएर त्यो दृश्य हेरिइरहन्छन्।
एक वृद्धलाई चारैतिरबाट घेरा हाल्ने। एउटाले 'मास्टर' भन्ने। अर्काले त्यही बेला वृद्धको खल्तीबाट मोबाइल चोर्ने।
कोडभाषा बुझिसकेको प्रहरीले तत्काल ती चारै युवती पक्राउ गर्छ।
बुधबार बिहान ९ बजे महाराजगन्ज चोकसम्मको दृश्य हो।
OOO
बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंले ७७ जना पाकेटमारलाई सार्वजनिक गर्यो। ती ७७ मै परेका थिए यी चार युवती। यिनीहरुको पाकेटमारी धन्दा पनि कम रोचक छैन। उनीहरु पाकेटमारका नाइके जंगेको अन्डरमा रहेर काम गर्छन्।
पाकेटमारको आरोपमा पक्राउ परेका यी युवती हुन्, ललितपुर पाटन मंगलबार बस्ने काभ्रेको पाँचखाल घर भएकी २१ वर्षीया संगीता तामाङ, गोरखाकी सरु भन्ने २० वर्षीया पूर्णमाया श्रेष्ठ, पर्वत घर भई बानियाँटार बस्ने २० वर्षीया सरस्वती कुँवर र सिन्धुपाल्चोक घर भई टोखा बस्ने २० वर्षीया रोशनी तामाङ छन्।
उनीहरुबाट प्रहरीले पाकेटमारी गरेका ७ वटा मोबाइल बरामद गरेको छ। दुई-तीन वर्षदेखि उनीहरुको पेसा बनेको छ, पाकेटमारी।
जंगेले चलाउँछन् पाँच युवती
पाकेटमार ग्याङले सुनबहादुर तामाङलाई जंगे भनेर बोलाउँछन्। काभ्रेका जंगे पहिला कान्तिपुर यातायातकै गाडी चलाउँथे। तिनै चालक जंगे एक दशकदेखि पाकेटमार ग्याङ चलाउँदै आएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार जंगेको समूहमा १५ जना पाकेटमार छन्। तीमध्ये पाँच जना युवती छन्। अहिले पक्राउ परेका चार युवती जंगेकै समूहका सदस्य हुन्। एक युवती भने अझै फरार छिन्।

प्रहरीका अनुसार जंगेले आफ्नो समूहमा आबद्ध गर्न पाकेटमारको तालिमसमेत दिने गरेका छन्। कोडभाषादेखि पाकेटमारी गर्ने तरिकासम्म सबैका सूत्रधार जंगे नै हुन्। उनैको आदेश, निर्देशनमा १५ जनाले पाकेटमार गर्दै आएका छन्।
युवती सम्पत्ति जोड्ने, केटा मोज गर्ने
प्रहरीले बुधबार सार्वजनिक गरेका ७७ पाकेटमारको लवाइखवाइ हेर्दा सबै निकै ब्राण्डेड देखिन्थे। उनीहरु खाइलाग्दा देखिन्थे। पेसा नै पाकेटमारी बनाएका उनीहरुलाई पैसाको लोभ थिएन।
चोर्ने। ब्रान्डेड कपडा लगाउने। खाने। मोज गर्ने।
पाकेटमारका भाषा : पुलिसलाई ठुल्दाइ, पैसालाई टानको द, मास्टर भनेपछि पाकेटमारी
प्राय: सबैजसो पाकेटमारी युवकहरुले यसै गर्ने गरेको परिसरका डिएसपी बोगटी बताउँछन्। ‘चोरेर ल्याएको सम्पत्तिको माया हुने कुरै भएन। हेर्नु न त्यहाँ तिनीहरुको लवाइखवाइ,’ उनले ठट्टा गरे, ‘तिनीहरुको छेउमा हामी पो झारेझुरे।’
अधिकांश पाकेटमार युवकहरुले यसैगरी पैसा उडाउने गरेको प्रहरीले जनाएको छ। रेस्टुरेन्ट जाने, युवती घुमाउने, महँगा कपडा लगाउनमै उनीहरुले पैसा सक्ने गरेका छन्।
अझ पक्राउ परेका एक युवक त महँगा होटलमा विदेशी युवतीसँग रात बिताउने र जुवातास खेल्ने गरेकोसम्म पाइएको प्रहरीले जनाएको छ।
तर युवतीहरु भने सम्पत्ति जोड्नेतिर लागेको देखिन्छ। ‘यी चार युवतीलाई पक्राउ गरेपछि यिनीहरुको कोठामा केही छ कि भनेर हामी छापा हान्न गएका थियौं,’ एक प्रहरीले सुनाए, ‘यिनीहरुको बसाइ कुनै भिआइपीको भन्दा कम थिएन।’
उनीहरुको कोठामा महँगा सोफा, दराज, पलङ, कार्पेट, ४०/४२ इन्चका एलइडी टिभी लगायतका सामानले सजिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवतीको स्कुटर पनि छ। पाकेटमारीका पैसा घरतिर पठाउने, लगानी लगाउनेसम्म गर्ने गरेको प्रहरीले जनाएको छ।
पाकेटमार युवती भने आफ्नै सहकर्मी युवालाई समेत जालमा पारेर पैसा कमाउने तर्फ लाग्ने गरेको ती प्रहरीले बताए।
ब्रान्डेड पहिरन, सुन्दरताको जाल, पिक टाइममा होसियार!
उनीहरुले अफिस समयमा बढीजसो पाकेट मार्ने गरेका छन्।
बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ७ सम्म पाकेटमारी गर्ने गरेको परिसरका एसएसपी वसन्त लामाले बताए। पिक टाइममा गाडीमा मानिसको चाप अत्याधिक हुने र त्यही मौकामा पाकेट मार्न सजिलो हुने भएकाले यो समयमा बढी पाकेटमारी हुने गरेको छ।
पाकेट मार्न जाने बेला ब्रान्डेड कपडा लगाउने, कालो चस्मा लगाउने, शरीरमा सेन्ट छर्किने गर्छन्। झट्ट हेर्दा जेन्टल जस्तो देखिएर पाकेट मार्न उनीहरुले यस्तो तरिका अपनाउँदै आएका छन्।
अझ युवतीहरुले त आफ्नो सुन्दरताको जालमा पारेर समेत पाकेटमारी गर्ने गरेका छन्। पैसा भएको युवक देखे नजिक हुन खोज्ने, बोलचाल गर्ने र त्यही मौकामा पाकेटमारी गर्ने योजना युवतीहरुको देखिएको छ।

अझ युवतीहरुले विश्वास दिलाउनका लागि आफ्ना बच्चासमेत बोकेर गाडीमा चढ्ने र पाकेटमारी गर्ने गरेका छन्। आफ्नो बच्चा नहुनेले समेत आफन्त तथा दिदीबहिनीको बच्चा बोकेर गाडीमा चढेर पाकेटमार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कारबाही गर्नै गाह्रो, पीडित खोज्दै प्रहरी
प्रहरीले ठूलो संख्यामा पाकेटमार पक्राउ गरे पनि पीडित नभइदिँदा कारबाही गर्न समस्या भएको छ। प्रहरीले पाकेटमारबाट ठूलो मात्रामा मोबाइल, नगद, ल्यापटप, सुनचाँदीका गरगहना बरामद गरेको छ।
उनीहरुलाई चोरी मुद्दामा कारबाही अगाडि बढाउनुपर्ने हुन्छ। तर सामान कसका हुन् भनेर पीडित खोज्नुपर्ने अवस्थामा प्रहरी पुगेको छ।
‘हामीले ठूलो मात्रामा सामानसहित पाकेटमार पक्राउ गर्यौं। अदालतमा पेस गर्छौं। अदालतले पीडित मगाउँछ। हामीसँग पीडित हुँदैनन्,’ डिएसपी बोगटी भन्छन्, ‘यस्तो अवस्थामा उनीहरु सहजै छुट्न सक्छन्।’
कतिपय अवस्थामा पीडित फेला परे पनि पीडितले आफ्नो सामान लिएर जाने र सम्पर्कमा नआउने भएकाले कारबाही गर्न समस्या भएको प्रहरीको भनाइ छ। पीडित नै नभएको अवस्थामा प्रहरीले सार्वजनिक मुद्दा चलाउँछ। पछि उनीहरु सहजै छुट्दै आएका छन्।
त्यसैगरी पाकेटमारी गर्नेलाई पहिलो पटक एक महिना जेल तथा बिगो बराबरको जरिवानाको व्यवस्था छ। त्यसैगरी दोस्रो पटक पाकेटमारी गर्नेलाई दुई महिनाको कैद तथा बिगो वमोजिमको जरिवाना कैद अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
फितलो कानुनको फाइदा उठाउँदै पाकेटमारीले पटकपटक पाकेट मार्दै आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।