सुर्खेत– आत्महत्या गर्न लागेका छोरालाई बचाउन खोज्दा छाेराले नै आमाको हत्या गरेका छन्। दैलेखको नारायण नगरपालिका– ३ भुर्तिका बालराम नेपालीले कोदालो प्रहार गरी आमाको हत्या गरेका हुन्।
प्रहरीका अनुसार बालाराम झुण्डिएर आत्महत्या गर्न भन्दै घरबाट हिंडेका थिए। उनलाई रोक्न खोज्दा ४७ वर्षिया आमा पार्वती सार्कीको हत्या भएको हो। आफूलाई रोक्न खोजेपछि बालारामले अन्धाधुन्दा कोदालो प्रहार गरेका थिए। उनको कोदालो प्रहारबाट सोही ठाउँ निवासी जुवारी नेपाली, कौशिला नेपाली र मन्दिरा नेपाली पनि घाइते भएका छन्।
घाइतेमध्ये जुवारी नेपालीको अवस्था गम्भीर रहेको दैलेख प्रहरीले जनाएको छ। कोदालो प्रहार गर्ने बालारामलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। घाइते तीनै जनाको जिल्ला अस्पताल दैलखमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।