काठमाडौं– लागुऔषध सेवनकर्ताको समूहले सप्तरीमा एक जनालाई कुटेर हत्या गरेका छन्।
लागुऔषध सेवनकर्ताको समूहलाई लागुऔषध खानु हुँदैन भनेर सम्झाउँदै गर्दा दुर्व्यसनीले कुटेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड पर्शुराम मिश्रको हत्या गरेका हुन्।
सोही गाउँपालिका वडा नं १ घर भएका २७ वर्षीय मिश्रले यसभन्दा अघि पनि गाउँपालिका वरपर लागुऔषध सेवन गर्नेलाई नखान भन्दै सम्झाउने गरेका थिए।
गाउँपालिका कार्यालयको चौरमा सोही गाउँपालिका–२ बस्ने ३३ वर्षीय शैलेन्द्र मुखिया समेतको समूहलाई शनिबार साँझ लागुऔषध सेवन गर्न रोक्न खोज्दा उनीहरुको कुटपिटबाट मिश्र गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते उनको सगरमाथा अञ्चल अस्पताल राजविराज हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो।
कुटपिट गर्ने समूह फरार रहेकोले खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।