भैरहवा– लागुऔषध ओसारपसारमा संलग्न गिरोहमध्येका एक जनालाई रुपन्देही प्रहरीले प्रक्राउ गरेको छ।
लामो समयदेखि लागुऔषध ओसारपसारमा संलग्न नवलपरासीको रामग्राम नगरपालिका–१८ का २७ वर्षीय दुर्गाप्रसाद चौधरीलाई विशेष सुराकीको आधारमा प्रहरी टोलीले प्रक्राउ गरेको जनाइएको छ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) हृदय थापाले भने, ‘विशेष सूचनाका आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको हो।’
उनले पक्राउ परेका चौधरी लागुऔषध ओसारपसार गर्ने गिरोहका महत्वपूर्ण व्यक्ति रहेको तथा सोही गिरोहका अन्य दुई जनालाई पनि पहिचान गरिसकिएको बताए। एसपी थापाले ती दुई जनालाई पनि केही दिन भित्र पक्राउ गरी सार्वजनिक गरिने बताए।
प्रहरीले चौधरीबाट जिल्लाको सिद्धार्थनगर नगरपालिका गल्लामण्डीबाट २÷२ मिलिलिटरको ३ हजार थान लागुऔषधसमेत बरामद गरेको छ।
चौधरीले देशका विभिन्न स्थानमा लागुऔषध पुर्याउँदै आएका थिए। चौधरीले स्याउको पेटीमा राखी जिल्ला बाहिर पठाउन लागको छ भन्ने सूचनाका आधारमा चौधरीलाई प्रक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख थापाले बताए।
प्रहरीले चौधरीबाट एक/एक हजार वटा डाइजोपाम, नुफिन र फेनारगन बरामद गरेको छ।
चौधरीले स्याउको कार्टुनको तलपट्टी लागुऔषध राखी माथिबाट स्याउका दाना राखि अन्यत्र पठाउन लागेको अवस्थामा प्रहरीले उक्त परिमाणको लागुऔषध फेला पारेको थियो। चौधरीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप भई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र लागुऔषध नियन्त्रण ऐनअनुरुप कारबाही हुने प्रहरीले बताएको छ।
के छ ऐनमा?
‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ को दफा १४ (१) को ‘झ’ बमोजिम लागुऔषध कारोबार गर्नेलाई २ वर्षदेखि १० वर्षसम्म कैद वा एक लाख देखि २० लाख रुपैयाँसम्मको जरिवाना वा दुबै सजाय हुन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।