काठमाडौं– प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले घरभाडा वापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने भएका छन्।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले भनेका छन्– घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु।
भट्टराई सहितका सांसदहरुले काठमाडौंमै घर हुँदाहुँदै पनि घरभाडा वापतको रकम लिइरहेको समाचार प्रकाशित भएपछि उनीहरु विवादमा परेका थिए।
'संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु। सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु', भट्टराईले विज्ञप्तिमा भनेका छन्।
संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएको भन्दै भट्टराईले दुख व्यक्त गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।