काठमाडाैं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरूले कोसिस गरिरहेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पारे। देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरूलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति समेत जनाए।
तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरूको संगठनलाई एकीकरण गर्न आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गरे।
छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्कँदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे।
प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दाबी गरे। उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे।
प्रहरी तालिम केन्द्र ३ दशकअघि पनौति सार्ने निर्णय भएपनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।