काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ मिनिट्रक दुर्घटना भएको छ।
अनुमानित ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनामा परेका अहिलेसम्म १६ जनाको शव फेला परेको गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले बताइन्। रातीको समय भएका कारण उद्धारमा कठिनाइ भएको उनले बताइन्।
घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको र सशस्त्र प्रहरीको टोली घटनास्थल तर्फ जाँदै गरेको आचार्यले जानकारी दिइन्। घटनास्थलमा गाउँपालिकाका अध्यक्ष योविन्द्र तामाङ पुगिसकेका छन्।
दुर्घटनामा थुप्रै जनाको ज्यान गएको आशंका छ। गाउँपालिका उपाध्यक्ष आचार्यका अनुसार मिनिट्रकमा ४५ जनाभन्दा बढी सवार थिए। दुर्घटनामा ३० जनाभन्दा बढीकाे ज्यान गएकाे अाशंका रहेकाे जानकारी उनले बताइन्।
उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा जान अनुरोध गरिएको छ। स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि घटनास्थलमा जान अनुरोध गरिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।