भारतका पाँच राज्यमा गत साता सम्पन्न विधानसभा निर्वाचनको परिणामसँगै सत्तापक्ष भाजपाको गढ भत्काउन प्रतिपक्ष कांग्रेस सफल भएको छ। निर्वाचन सम्पन्न ५ राज्यमध्ये तीन ठूला राज्य राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कांग्रेसले सरकार बनाउन सक्ने मत प्राप्त गरेको छ। यसअघि यी तीनै राज्यमा सत्तासीन भाजपाको पकड थियो।
निर्वाचन सम्पन्न दुई राज्य मिजोरम र तेलंगनामा पनि भाजपाविरोधी गठबन्धनमा आवद्ध क्षेत्रीय पार्टीले सरकार बनाउने भएका छन्। प्राप्त परिणामले आगामी लोक सभाको निर्वाचन भाजपाका लागि सहज छैन भन्ने सन्देश प्रवाह भएको छ। निर्वाचनको मत परिणामसँगै मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा सरकार बनाउने तयारीमा आफू जुटेको कांग्रेस अध्यक्ष राहुल गान्धीले बताइसकेका छन्।
सन् २०१९ को लोकसभा निर्वाचनको पूर्व सन्ध्यामा भएको ५ राज्यको निर्वाचन परिणामलाई भारतमा सत्ता परिवर्तनको संकेत भन्न थालिएको छ। भाजपा नेताहरुले ‘पप्पु’ उपनाम दिइएका कांग्रेस अध्यक्ष राहुल सत्ता पक्षसँगको टकरावमा सबल देखिएका छन्। प्राप्त परिणामले राहुल भविष्यमा भारतको सत्ताका सारथि बन्न सक्ने सन्देश दिएको छ।
को हुन् राहुल?
राहुल कांग्रेस अध्यक्ष मात्र नभएर ऐतिहासिक नेहरु गान्धी परिवारका चौथो पुस्ताका सदस्य हुन्। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपुत्री स्व. इन्दिराका नाति हुन्। राहुल पूर्वप्रम स्व.राजीव गान्धी र पूर्व पार्टी अध्यक्ष सोनिया गान्धीका एक्ला पुत्र हुन्।
अघिल्लो वर्ष मात्र पार्टी अध्यक्ष भएका राहुललाई प्रतिपक्षी भाजपा नेतृत्व पंक्तिले ‘पप्पु’ उपनाम दिएर मजाक उडाउँदै आएका थिए। उनी अध्यक्ष भएपछि उनका विरोधीले पार्टीमा समेत विरासत थाम्न बनाइएका बालक, अध्यक्ष भनेर आलोचना गरेका थिए। पार्टीमा उनीभन्दा वरिष्ठ नेता अरु भए पनि गान्धी परिवारले आफ्नो विरासत नगुमोस् भनेर राजनीतिका कच्चा खेलाडी राहुललाई अध्यक्ष बनाएको आरोप लाग्ने गरेको थियो।
अध्यक्ष भएसँगै जिम्मेवारी बहन गर्दै राहुल गत वर्ष गुजरातको विधान सभामा निर्वाचनमा पार्टीमा उभार ल्याउन होमिएका थिए। गुजरातमा भाजपाको सत्ता भत्काउन नसके पनि आंशिक सफलता हात पार्दै आफूलाई सवल साबित गराउन उनले देश दौडाहलाई जारी राखे।
त्यसो त उनी अध्यक्ष भएपछि गुजरातसँगै हिमाञ्चलको निर्वाचन भएको थियो। हिमाञ्चलको वर्षौंकोे कांग्रेस पकड समेत फुत्किएको थियो। तर पनि उनको देश दौडाह गरिरहे तर यतिबेला उनको देश दौडाह सार्थक साबित भएको छ। ५ राज्यमा सम्पन्न निर्वाचनमा पार्टीका तर्फबाट राहुलले निर्वाह गरेको भूमिका र प्राप्त परिणामले उनलाई राजनीतिका पक्का खेलाडी बनाएको छ।

यस अवधिमा कांग्रेसको नेतृत्व राजीवपत्नी सोनियाबाट छोरा राहुल गान्धीमा आएको छ। नेहरुले सन् १९२९ मा पहिलो पटक कांग्रेसको अध्यक्षता गरेसँगै उनको छोरी इन्दिरा, नाति राजीव, नातिनी बुहारी सोनिया र पनाति राहुलसम्म कांग्रेसको नेतृत्व पुस्तान्तर हुँदै आएको छ। नेहरु वंशले १ सय ४५ वर्षको कांग्रेसको इतिहासमा करिब ४७ वर्ष नेतृत्व गर्ने अवसर जुरेको छ। सायद त्यसैले भारतमा कांग्रेस पार्टीलाई वंश विरासतको पार्टी भन्ने आरोप लाग्ने गरेको छ।
प्राप्त निर्वाचन परिणामले आगामी सन् २०१९ मा हुने निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्तासीन भाजपा ढुक्क हुनसक्ने देखिंदैन। कांग्रेसको नेतृत्व सम्हालेका राहुल पनि भाजपाको सत्ता भत्काएर आफ्नो नेतृत्वलाई परिपक्क साबित गर्न लागिपरेका छन्।
कांग्रेस राज
भारतमा महात्मा गाधीको नेतृत्वमा भएको स्वतन्त्रताको आन्दोलन सन् १९४७ अगस्टमा अन्त भयो। गान्धी भारतमा करिब ३ दशक आन्दोलनको नेतृत्व गर्न सफल रहे। त्यसैले यस युगलाई गान्धी युग भनिन्छ। आन्दोलनपछिको स्वतन्त्रता भारतबासीका लागि अपार खुसीको विषय थियो। स्वतन्त्र भारतको राजनीतिक सत्ता सम्हाल्ने पहिलो अवसर पण्डित जवाहरलाल नेहरुले प्राप्त गरे। भारतीय राष्ट्रिय कांग्रेसका तर्फबाट उनी स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री बने। उनकै कार्यकालमा भारतले संविधान पनि प्राप्त गर्यो।
जवाहरलाल नेहरुको जन्म सन् १८८९ मा भएको हो। जवाहर पिता मोतीलालका एक्ला सुपुत्र थिए। पिता मोतीलाल तत्कालीन भारतका वरिष्ठ अधिवक्ता थिए। पण्डित परिवारकोे पैत्रिक स्थान कश्मिर भए पनि बसाइ सरेर उत्तर प्रदेशस्थित इलाहाबाद आएका थिए। सम्पन्न परिवार भएकोले जवाहरको शिक्षा–दीक्षा बेलायतबाट भयो।
उनले कानुन विषयको अध्ययन गरे। बेलायतबाट फर्किएपछि नेहरीले सुरुमा वकालत पेसा गरे। तर उनलाई तत्कालीन भारतीय समाजको अवस्थाका कारण वकालती पेसाले आकर्षण गर्न सकेन। अन्ततः उनी राजनीतिमा प्रवेश गरे। उनी राजनीतिमा प्रवेश गर्दा भारतमा गान्धी युग थियो। त्यसैले उनी रसियन सोसलिस्ट विचारका समर्थक रहँदारहँदै पनि गान्धीका अनुयायी बन्न पुगे।
पिता नेहरुको अनिच्छाका बाबजुद पनि उनी ब्रिटिस विरुद्धको आन्दोलनमा सहभागी हुनपुगे। आन्दोलनमा उनी एक्लै सहभागी रहेनन्, श्रीमती कमला नेहरुले पनि साथ दिएकी थिइन्। एक सन्तान (इन्दिरा) का अभिभावक (नेहरु दम्पत्ति सन् १९३० को गान्धीको नेतृत्वमा भएको दान्ड मार्चमा सहभागी रहे। त्यस बखत प्रहरीको लाठी प्रहारबाट सख्त घाइते कमलाको त्यही व्यथाका कारण सन् १९३४ मा निधन भयो।
सन् १९१२ मा उनले पहिलो पटक कांग्रेसको महासभामा भाग लिएका थिए। सन् १९१६ मा लखनउमा उनको भेट गान्धीसँग हुन पुग्यो। त्यसपछि उनको जीवनमा चामत्कारिक परिवर्तन आयो। त्यतिबेलै गान्धीले उनको लगनशीलतालाई देखेर एउटा भविष्यवाणी गरिदिएका थिए– मेरो निधनपछि नेहरुले नै मपछिको नेतृत्व सम्हाल्ने छन्। नभन्दै गान्धीको सद्भावबाट उनले स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री हुने अवसर पाए।
गान्धीको विश्वास आर्जन गरेपछि जीवनमा उनी पछि फर्कनु परेन। सन् १९१८ मा नेहरु कांग्रेसअन्र्तगत कै होमरुल लिगका सचिव बने। सन् १९२३ मा उनी भारतीय राष्ट्रिय कांग्रेसका सचिव बने। १९२७ मा उनी कांग्रेसको प्रतिनिधित्व गर्दै ब्रसेल्समा उपनिवेश राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगे। १९२८ को साइमन कमिसन खिलाफ आन्दोलनमा उनी लखनउमा पक्राउ परे।
रिहा पश्चात कांग्रेसको लाहोर महाधिवेशनबाट सन् १९२९ मा उनी पहिलो पटक भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष बने। त्यसपछि क्रमशः सन् १९३६, १९३७ र १९४६ मा अध्यक्ष भएर देशको राजनीतिको बागडोर सम्हाल्न सफल रहे। स्वतन्त्रता प्राप्तिको आन्दोलनमा पटक–पटक गरी करिब ९ वर्ष बन्दी जीवन बिताएका नेहरु स्वतन्त्र भारतमा प्रथम प्रम बने। साथै १७ वर्ष एकछत्र राज गर्न सफल रहे। १५ अगस्ट १९४७ देखि २७ मई १९६४ जीवनको अन्तिम घडीसम्म उनी भारतमा प्रधानमन्त्री रहे।
उनले आफ्नो जीवनका आदर्श पुरुष पिता नेहरु, महात्मा गान्धी, कार्ल माक्र्स, ऐनीबेसेन्ट, रसेल, आइन्साटाइन लगायत रहेको आफ्नो आत्म कथामा उल्लेख गरेका छन्। नेहरुमा राजनीतिका अतिरिक्त अध्यात्मिक चिन्तनको समेत ठूलो प्रभाव थियो। गान्धीको अहिंसा दर्शनको उनी भक्त रहे।
माक्र्सबादी सिद्धान्त र विकाससम्बन्धी दृष्टिकोणले उनलाई माक्र्सवादी चिन्तक बनायो। नेहरु र माक्र्सवाद नामक पुस्तकका लेखक शशि भुषणले उनका बारेमा लेखेका छन्, ‘माक्र्सवादका अनुयायी बन्न नसकेका नेहरुलेजति भारतमा सायदै कम्युनिस्ट पार्टीका सदस्यले मार्क्सवादी विचारको प्रचारप्रसार गरेका होलान्।’

नेहरु स्वयंले लेखेका छन्, ‘मार्क्सवाद इतिहास, राजनीतिक, अर्थशास्त्र, मानव जीवन र मानव उमंगको रोमाञ्चक व्याख्या गर्ने शैली स्तुत्य छ। यो प्रस्तुति शैली पनि आफैंमा एक कारबाहीको तरिका हो।’
नेहरु लोकतन्त्र एवं प्रजातन्त्रका प्रबल पक्षपाती रहेको दाबी गरिन्छ। समाजवादी लोकतन्त्र उनको परिकल्पनाको शासन व्यवस्था थियो। प्रजातान्त्रिक संविधान उनकै नेतृत्वमा बन्न पुग्यो। नेहरु महात्मा गान्धीका राजनीतिक उत्तराधिकारी रहे। आर्थिक समृद्धिका पक्षपाती रहे। फासीवाद, नाजीवाद र अधिनायकवादलाई सदैव निन्दा गरिरहे।
जनसम्पर्कलाई लोकतन्त्रिक प्रक्रियाको आधार मानेर उनले नेतृत्व गरिरहे। लोकतान्त्रिक व्यवस्थालाई सुदृढ तुल्याउन सामुदायिक फाइदाका लागि उपयोग गर्न सक्नुपर्छ भन्ने मान्यता रह्यो। लोकतन्त्रको कमीकमजोरीलाई सरलता एवं नम्रताले न्यूनीकरण गर्न सकिन्छ भन्ने उनको दृढ विश्वास थियो। लोकतन्त्रलाई उनी समाजको आत्मानुशासन मान्थे।
नेहरुले धर्मका बारेमा गान्धीको आर्दश अँगालेका थिए। उनकै कारण भारतको संविधान धर्मनिरपेक्ष बनेको हो भन्ने वर्तमान सत्तापक्ष भाजपाको आरोप छ। धर्मका बारेमा एक उनले ‘भारत एक धर्म निरपेक्ष राज्य हो। सबै धर्मलाई समान मान्यता दिएर धर्मका आधारमा कसैलाई भेदभाव नगर्नु धर्म निरपेक्षता हो,’ भन्ने उनको भनाइ थियो।
नेहरुले कल्पना गरेको समाजवाद भारत अहिले पनि छैन तर पनि उनले कल्पना गरेको समाजवादमा आर्थिक, राजनीतिक, समाजिक विचारधारा पक्षपोषित पाइन्छ। उनले प्रजातान्त्रिक समाजवादमा विकासको पारुप तयार पार्न खोजे तर पनि परम्परागत संरचनामा जकडिएको भारतमा सम्भव हुन सकेन।
उनले शासन व्यवस्थाको आधार समाजवादी व्यवस्थाका आधारमा ढाल्न खोजे। उनी प्रजातान्त्रिक समाजवादका पक्षपाती थिए भन्न सक्ने आधार भेटिन्छ। नेहरुको कल्पनाको समाजवाद बेग्लै प्रकारको थियो भनिन्छ। अर्थात मिश्रित अर्थ व्यवस्थाको द्योतक। पुँजीवाद र समाजवादको मिश्रण। सन् १९९० पछि कांग्रेस आइको सरकारले अवलम्बन गरेको आर्थिक उदारीकरणमा नेहरुको परिकल्पना थियो भन्न सकिन्छ।
नेहरु गान्धीको नैतिक सत्ताका पक्षपाती रहे। नेहरु यथार्थ आर्दशवादी नेताका रुपमा परिचित छन्। मानव कल्याण उनको आदर्श थियो विश्व भ्रातृत्व, प्रेम कायम गर्नु उनको चिन्तन थियो। बृद्धिजीवी एवं अन्तर्राष्ट्रिय ख्याति उनले प्राप्त गरे। भारतमा अहिलेसम्मका प्रमहरुमा नेहरुको स्थान कुनै प्रमले पनि लिन सकेको पाइँदैन।
सत्ताको बागडोर सम्हालेका नेहरुसमक्ष भारतको गरिबी चुनौती रह्यो। पाकिस्तानसँगको बैमनस्यता, चीन र भारत युद्ध लगायतका कारण उनको शासन कालका उत्तराद्र्धका नमिठा अनुभव रहे। तर उनको जीवन नैतिक आचरण राजनेताका रुपमा परिचित छ।
नेहरुलाई सारमा राष्ट्रिय स्वतन्त्राका पक्षपाती, राष्ट्रप्रेमी नेता, अन्तर्राष्ट्रिय व्यक्तित्व, लोकतन्त्रका पक्षपाती, धर्म निरपेक्षवादी, असंलग्न आन्दोलनका प्रणेता, योजनावद्ध विकासका पक्षपाती, समाजवादी नेताका रुपमा परिचित गराइन्छ। वर्तमान सत्ता भाजपाका सर्मथकले भने उनलाई ब्रिटिस सत्ताका तावेदार नास्तिक नेताका रुपमा आरोपित गर्दै आएको छ।
लाल बहादुर शास्त्री
शास्त्री नेहरुको निधनपश्चात १९ महिना (१९६४–६६) प्रधानमन्त्री रहे। उनी कांग्रेसका नेता थिए। सादा जीवन, सरल व्यक्तित्वका कारण उनले प्रधानमन्त्रीको पद पाउन सफल रहे। उनको कार्यकालमा भारत–पाकिस्तान युद्ध भयो। त्यो युद्ध भारतले जित्यो त्यसले गर्दा उनको व्यक्तित्व भारतमा सम्मानित बन्न पुग्यो। उनी गान्धीको स्वतन्त्रता आन्दोलनबाट राजनीतिमा आएका व्यक्ति थिए।
नेहरुको निधनपश्चात उनको मन्त्रिमण्डलका वरिष्ठ मन्त्री गुलजारीलाल नन्दा कार्यबाहक प्रधानमन्त्री भए पनि पार्टी अध्यक्ष कामकाजले शास्त्रीलाई अनुभवी र वरिष्ठ नेताका रुपमा संसदीय दलको नेता बनाए। त्यसपछि उनी प्रधानमन्त्री बन्न सफल रहे। त्यसअघि उनी नेहरु मन्त्रिमण्डलमा रेल एवं यातायात मन्त्री र गृहमन्त्री भइसकेका थिए।
शास्त्री र बिपी कोइरालाको शिक्षा केही समय एउटै शैक्षिक संस्था काशी विद्यापीठमा भएको थियो। उनी उत्तर प्रदेशका बासिन्दा थिए। पहिलो पटक सन् १९५२ मा संसद भएका थिए। उनकै मन्त्रिमण्डलमा इन्दिरा गान्धी पहिलो पटक सूचना एवं सञ्चार मन्त्री भएकी थिइन्। शास्त्रीलाई नेहरुको पदचापमा हिँड्ने नेता भनेर चिनिन्छ। उनले भारतमा ‘जय भारत, जय किसान’ भन्ने नारा बनाएर कृषिको विकासका लागि योगदानको योजना सुुरु गरेका थिए।
इन्दिरामा विरासत
इन्दिरा गान्धी नेहरुकी छोरी हुन्। सन् १९२२ मा इलाहवादमा जन्मिएकी गान्धी भारतमा चार पटक प्रधानमन्त्री बन्न सफल रहिन्। पहिलो पटक उनी प्रम शास्त्रीको निधनपश्चात सन् १९६६ मा प्रधानमन्त्री बनिन्। त्यस बखत विभिन्न उतारचढावका बाबजुद उनी सत्तामा बागडोर सम्हाल्न क्रियाशील रहिन्।
यस अवधिमा सन् १९६९ मा तत्कालीन राष्ट्रपति डा. जाकिर हुसेनको मृत्युको दुखद अवस्थालाई आफूअनुकुल बनाउन इन्दिरा सफल रहिन्। पार्टीको निर्णयविरुद्ध आफ्नो अनुकुलका व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाइन्। उनको एकलौटी निर्णयले पार्टी र सरकार नेतृत्व दुई धु्रवमा विभाजित भयो।
समयलाई आफ्नो वशमा पार्न माहिर इन्दिराका लागि पार्टीमा फुट र गुटको अनपेक्षित सामना गर्न परिरह्यो। अन्ततः उनले समर्थन गरेर उठाएका उपराष्ट्रपति बिबी गिरीको पक्षमा निर्वाचन परिणाम आयो। त्यसले उनको सत्ता टिकाइराख्यो।

कार्यकारी अधिकार हातमा लिएर सत्ताका निणर्यलाई राष्ट्रपतिबाट अनुमोदन गराउन उनी सफल रहिन्। पार्टी र सरकारबीचको मनमुटाव बाहिरी सतहमा छताछुल्ल भयो। पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार निलम सञ्जीव रेड्डी पराजित भए। उक्त घटनापश्चात पार्टी विभाजन भयो। सरकारका अर्थमन्त्री रहेका मोरारजी देसाइलाई अपदस्त गरी इन्दिराले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैंले सम्हालिन्।
त्यस बखत नागरिकका पक्षमा अहं महत्व राख्नेगरी इन्दिाराले एकलौटी केही निर्णय गरिन्। जसको दूरगामी प्रभाव निर्वाचनमा पर्यो। सत्तामा टिकाइराख्ने तुरुप ती निणर्य भए। जस्तैः अध्यादेशबाट १४ ठूला वाणिज्य बैंकलाई राष्ट्रियकरण र भारत स्वतन्त्र भएपछि तत्कालीन गृह तथा उप–प्रधानमन्त्री बल्लभभाइ पटेलले गरेको सहमतिअनुसार भुरेटाकुरे राजा र रजौटालाई सरकारले दिंदै आएको भत्ता कटौतीको निर्णय।
उक्त निर्णयले उनको छवि जनपक्षीय त बन्यो। जनताका नजरमा काम गर्ने प्रधानमन्त्रीको छविसमेत बनायो। त्यस बीचमा पाकिस्तानको पूर्वी प्रान्त बंगाललाई टुक्र्याउन उनको राणनीति कामयाव रह्यो। त्यस बीचमा उनको कार्यकुशलताको चर्चा खुबै चुलियो। तर विरोधी भने उनलाई अपदस्त गर्न एकपछि अर्काे निहुँ खोजिरहे।
त्यस अवधिमा उनको १४ बंैकको राष्ट्रियकरणको मुद्दा अदालतसम्म पुग्यो। अदालतले सरकारको निर्णयको बदर गर्ने आदेश दियो। तर तत्कालै सन् १९७१ मा भएको निर्वाचनमा सरकारका तर्फबाट इन्दिराले गरेका निर्णयलाई विश्वास गर्दै जनताले उनले नेतृत्व गरेको पार्टी कांग्रेस ईलाई बहुमत दिए।
आफ्ना पक्षमा रहेका राष्ट्रपतिको विश्वासलाई उपयोग गर्दै सरकारले पुनः अध्यादेश ल्याएर उक्त निर्णयलाई कार्यान्वयन गरायो। इन्दिरा सरकारले फेरि अर्काे लोक कल्याणकारी निर्णय गर्दै भूमिमा हदबन्दी लागू ग¥यो। जसले गर्दा भूमिहीन किसान भूमिका निःशर्त मालिक बने।
आरोह–अवरोहबीच सन् १९७७ सम्म निरन्तर सत्ता र पार्टीको बागडोर सम्हाल्न उनी सफल रहिन्। संकटकाल पछिको निर्वाचनमा भने उनले नराम्रो हार ब्यहोरिन्। त्यस पछिको सरकारसँग टकराव बढ्दै गयो। मोरारजी देसाई र चरण सिंह चौधरीले करिब तीन वर्ष सरकारको नेतृत्व गरे।
सन् १९८० को निर्वाचनमा प्रचण्ड बहुमतका साथ फेरि इन्दिरामा सत्तामा फर्किन्। यही कार्यकालमा प्रम रहेकै बखत सन् १९८४ मा उनको हत्या भयो। भारतमा इन्दिरा कार्यकालमा सन् १९६७, १९७१, १९७७ र १९८० गरी चार वटा निर्वाचन भए। १९७७ को निर्वाचन उनका लागि अफाप सिद्ध रह्यो भने बाँंकी उनका लागि अवसर बने।
भारतको कालो इतिहास
सन् १९७५ देखि ७७ भारतमा कालो इतिहासका रुपमा दर्ज छ। सन् १९७१ मा इन्दिराको बहुमतको सरकार थियो। बहुमतको सरकार भए पनि उनका निर्वाचन प्रत्यासिले इलाहावाद उच्च अदालतमा गरेको अपिलमा अदालतले सन् १९७५ मा उनको निर्वाचन क्षेत्रको परिणामलाई अवैध ठहर गर्यो। साथै ६ वर्षका लागि उनलाई निर्वाचन उठ्न नपाउने गरी फैसला सुनायो।
प्रधानमन्त्री इन्दिराले संवैधानिक अधिकारको जबरजस्ती उपयोग गर्दै तत्काल संकटकाल घोषणा गरिन्। आफ्ना विरोधीलाई जेल हाल्नेसम्मको हर्कत गरिन्। उनी विरुद्धकोे विद्रोहलाई समाजवादी नेता जयप्रकाश नारायण लगायतले देशव्यापी बनाए।
विपक्षीहरुले उनको आन्दोलनलाई समर्थन गरे। उनका विरुद्धको जय प्रकाशको आन्दोलनले राष्ट्रिय रुप धारण ग¥यो। बयोबृद्ध समाजवादी नेता जय प्रकाश विरुद्ध सरकारले वारेन्ट जारी गर्यो। त्यस बखत बिहारमा रहेका जय प्रकाश भागेर बच्न नेपाल पसेका थिए। यस अवधिमा भारत प्रवासमा रहेका नेपालका प्रथम जननिर्वाचित अपदस्थ प्रधानमन्त्री बिपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किन बाध्य भए। कारण उनी जय प्रकाशका पक्षपाती थिए।
सन् १९७७ को संकटकाल पश्चात सन् १९७१ मा उनको नेतृत्वमा बंगलादेशको जन्म गराएर बनेको इन्दिराको राष्ट्रिय छवि ध्वस्त भयो। राजनीतिमा उग्रचण्डीको अवतारमा उनी देखा परिन्। संकटकालमा उनले प्रेसलाई निशाना बनाइन्। आफ्ना प्रबल सर्मथक तथा गान्धीका अनुयायी तथा भुदान यज्ञका प्रवर्तक विनोवा भावे सम्पादक रहेको भूमि पत्रिकालाई समेत उनले बन्देज लगाइन्।
यसै अवधिमा सरकार व्यक्तिगत स्वतन्त्रता सीमित गर्ने कानुन बनाएर अलोकप्रिय काम गर्न उद्यत रह्यो। जस्तैः जबर्जस्ती पुरुष भ्यासेक्टोमी कार्यक्रम। यस कार्यक्रम लागू गर्दा करन सिंह भारतका स्वास्थ्य मन्त्री थिए। जो नेपालको ०६२÷०६३ को आन्दोलन उत्कर्षमा रहँदा भारत सरकार तर्फबाट विशेष दूतका रुपमा काठमाडौं आएका थिए।
सन् १९७७ मा भएको राष्ट्रिय निर्वाचनमा उनको उन्मादलाई मतदाताले ठेगान लगाइदिए। निर्वाचनले इन्दिरालाई अद्योपतन गराइदियो। भारतमा पहिलो पटक गैरकांग्रेसी सरकार बन्यो। कांग्रेसविरोधी गठबन्धन उक्त सरकारको नेतृत्व जनता पार्टीका तर्फबाट मोरारजी देसाइले गरे। उक्त सरकारले इन्दिरालाई सत्ता दुरुपयोगको आरोपमा जेल समेत हाल्यो। तर देसाई नेतृत्वको गठवन्धनको सरकार तीन वर्षभन्दा धेरै टिक्न सकेन। उनी फेरि उपनिर्वाचनमा उम्मेदवार बनेर संसदमा आइन्।
सन् १९७८ मा पार्टी नेतृत्वविरुद्ध विद्रोह गरेर नयाँ पार्टी पुनर्गठन गरिन्। जसको नाम कांग्रेस ई राखियो। एकलौटी बहुमत कसैको नभएकोले बीचमैं देसाई सरकार ढल्यो। त्यसपछि जय प्रकाशले सरकारको नेतृत्व गठबन्धनकै तर्फबाट चरणसिंह चौधरीलाई प्रम बनाए। तर पनि सरकारले निरन्तरता पाउन सकेन्। सन् १९८० मा लोक सभाको निर्वाचन भयो। फेरि गान्धी नेतृत्वको कांग्रेसले प्रचण्ड बहुमत (५ सय २९ मध्ये ३५३ सिट) प्राप्त गर्यो।
सत्ताको बागडोर फेरि गान्धीमा आयो। आफ्ना कनिष्ठ पुत्र सञ्जय गान्धी र आफ्ना सर्मथकविरुद्ध दर्ज भएका उजुरी खारेज गर्ने पहिलो काम त्यस बखत उनले गरिन्। सरकार गठन भएको केही महिनापश्चात इन्दिराका उत्तराधिकारी मानिएका सञ्जयको हवाई दुर्घटनामा निधन भयो। उनी शोकले विक्षिप्त भइन्। सञ्जयको निधनपश्चात जेठा छोरा राजीव गान्धीलाई उत्तराधिकारीका रुपमा पार्टीको कामकाजमा सहभागी गराइन्। त्यतिबेलासम्म राजीवलाई राजनीतिमा चासो थिएन। कुशल पाइलटका रुपमा एयर इन्डियामा कार्यरत थिए।
राजनीतिक उतारचढावमा पोख्त इन्दिरालाई छोरा सञ्जयको निधनले ठूलो क्षति भयो। यस अवधिमा पञ्जावको पृथकतावादी आन्दोलन र अन्य राज्य चलिरहेको विद्रोहले सत्ता सञ्चालनमा अस्वभाविक उचारचढाव भइरहेको थियो। भारतमा आन्तरिक शान्तिसुरक्षाको अवस्था खल्बलिएको थियो। पञ्जावमा चलेको आन्दोलन दबाउन प्रम इन्दिराले अमृतसरको स्वर्ण मन्दिरमा सैनिक प्रवेश गर्न आदेश दिइन्। आदेशको पालना गर्दै सैनिकले मुडभेडका नाममा ४ सय ५० भन्दा धेरै सिख धर्मावलम्बी मारिदिए। उक्त घटनाले सिख समुदाय उनीसँग आक्रोशित रहे। त्यसैको फलस्वरुप आफ्नै अंगरक्षकले सन् १९८४ मा गोली हानी उनको हत्या ग¥यो।
इन्दिरालाई कसैले राष्ट्रप्रति समर्पित दृढ आत्मविश्वासी नेतृका रुपमा स्मरण गर्छन् भने कसैले हठी आइमाई भनेर स्मरण गर्छन्। त्यसो त समाजवादी नेता राममनोहर लोहिया जो नेहरुका समकालीन थिए। उनले इन्दिरालाई ‘गुंगी गुडिया’ को उपाधि दिएका थिए। भारतको राजनीतिक बृत्तमा उनलाई ‘कालो इतिहास’ की नायक भनेर पनि सम्बोधन गरिन्छ।
राजीव गान्धी
नेहरुको तेस्रो पुस्ताका बिरासत राजीव राजनीतिमा भाइ सञ्जय गान्धीको निधनपश्चात प्रवेश गरे। त्यसपछि आमा इन्दिरालाई सहयोग गर्दैआएका राजीवलाई एक्कासि बज्रपात आइप¥यो, आमा इन्दिराको हत्याले। उनी पार्टीको कामविशेषले पार्टीका नेता प्रणव मुखर्जीसँग पश्चिम बंगालको कार्यक्रममा रहेका बेला आमा इन्दिराको प्रम रहेकै बखत हत्या भयो।
आमाका सहयोगी रहेकै बखत उनी कांग्रेसको पार्टी महासचिवको जिम्मेवारीमा थिए। आमाको हत्या भएपछि उनी त्यसै दिन प्रधानमन्त्री घोषित भए। पार्टीमा उनीभन्दा अग्रज प्रणव र पिवी नरसिंह राव रहे पनि राष्ट्रपति ज्ञानीजैल सिंहले उनलाई तत्काल प्रमको सपथ गराए। कारण इन्दिराको सर्मथनमा उनी राष्ट्रपति भएका व्यक्ति थिए। उनलाई राष्ट्रपतिको काम कर्तव्य र अधिकारबारे ज्ञान थियो।

राजीव प्रम भएप्छि मात्र पार्टीले उनलाई दलको नेता चुनेको थियो। पार्टीमा उनीभन्दा वरिष्ठ रहेका मुखर्जीले अब प्रम हुने पालो मेरो भनेर खुलेर भनेपछि पार्टीमा उनका विरोधीले राजीवलाई पार्टीमा दलको नेता बनाउन भूमिका निर्वाह गरे। मुखर्जीको प्रम हुने उद्घोष महँगो साबित भयो। जीवनकालमा प्रम हुने उनको सपना अतृप्त नै रह्यो। राजीवको सन् १९९१ मा हत्यापश्चात वरिष्ठ नेता नरसिंह राव प्रम बने। मुखर्जी भने पछि राष्ट्रपति बने।
राजीव सन् १९८४ देखि १९८९ सम्म भारतका प्रधानमन्त्री रहे। त्यसो त उनी भाइ सञ्जयको निर्वाचन क्षेत्र उत्तर प्रदेशको अमेठीबाट सन् १९८१ मा उपनिर्वाचनमा उम्मेदवार भएर राजनीतिमा प्रवेश गरे।
राजीव नेपालको ०४६ सालको परिवर्तनका लागि आन्दोलन भइरहँदा भारतमा प्रम थिए। उनले नेपालको परिवर्तनको पक्षमा सहयोग गरेजस्तो देखियो। तर उनी नाकाबन्दी लगाएर नेपालको वैधानिक सत्तालाई कमजोर गराउन भूमिका निर्वाह गर्ने अनुदार प्रम हुन्।
राजीवले सत्ताको बागडोर सम्हालेपश्चात भारतका पन्जाब र आसाम लगायतका राज्यमा हिंसाजन्य पृथकतावादी आन्दोलन जारी थियो। त्यसको समाधान गर्न उनी सफल रहे। तर दुर्भाग्य २१ मई सन् १९९१ मा निर्वाचन प्रचार क्रममा तमिलनाडुको श्रीपेंरुबुदूर पुगेका बखत तमिल पृथकताबादी महिलाले गराएको आत्मघाती बम बिस्फोटबाट उनको हत्या भयो।
पिवी नरसिंह राव
२९ मई १९९१ को चुनाव प्रचार क्रममा गान्धी परिवारका उत्तराधिकारी राजीवको हत्या भयो। त्यसको जस निर्वाचनमा पार्टी पहिलो बन्न सफल भयो। त्यसबेला कांग्रेसको सिट संख्या जम्मा २ सय ३२ मात्र थियो। सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा घनीभूत छलफलपश्चात अनुभवी वरिष्ठ व्यक्तित्व रावलाई पार्टीले चुन्यो। गठवन्धन सरकारको नेतृत्व उनले गरे।
२१ जुन १९९१ मा सरकारको सपथ लिएका रावले सरकार पाँच वर्ष चलाए। उनी इन्दिराको संकटकाल (१९७५–७७) का बफादार व्यक्ति थिए। उनमा इन्दिरा र राजीव सरकारका बखत गृह, रक्षा, विदेश मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव थियो। उनको कार्यकाल सफल भए पनि पछि उनी भ्रष्टाचार काण्डमा मुछिए। उनको नैतिक स्वच्छ छवि सत्तारोहणपछि धुमिल बन्यो। सन् १९९२ चर्चित अयोध्या काण्ड यिनकै कार्यकालमा भएको थियो।
डा. मनमोहन सिंह
सरकारको जोड–घटाउ भइरहेको समयमा कांग्रेसका गान्धी परिवारको विश्वासविना नेतृत्वमा आउनसक्ने वातावरण रहेन। त्यसको ज्वलन्त उदाहरण प्रणव मुखर्जी वरिष्ठ नेता रहँदारहँदै उनले सत्ताको नेतृत्व गर्ने अवसर पाएनन्। बरु उनी राष्ट्रपति भएर सेवानिवृत्त जीवन बिताउँदै छन्। गान्धी परिवारले मुखर्जीलाई कार्यकारी प्रमुखका लागि योग्य नमानेपछि अर्का विश्वासिला पात्रका रुपमा फेला परे डा. मनमोहन सिंह।
यस अवधिमा भाजपा नेता अटल बिहारी वाजपेयीको नेतृत्वमा दुई पटक सरकार बन्यो। वाजपेयी सरकार पहिलो पटक १३ दिन र दोस्रो पटक १४ महिना मात्र चल्यो।
सन् १९८९ पछि भारतमा नयाँ सरकार बन्ने र गिर्ने खेल निरन्तर जारी रह्यो। कारण, कुनै एक पार्टीको स्पष्ट बहुमत नआउनुका कारण। यस अवधिका उल्लेखित सरकारबाहेक चन्द्रशेखर, बिपी सिंह, एचबी देवगौडा, ईन्द्रकुमार गुजरालको गैरकांग्रेस नेतृत्वका सरकार पनि बने। तर पूरा अवधि टिक्न सकेनन्। सन् १९९९ को निर्वाचनपछि भाजपा नेता अटल बिहारी नेतृत्वको गठवन्धन सरकारले जसोतसो ५ वर्ष पूरा गर्यो।
सन् २००४ मा भएको निर्वाचनमा कांग्रेस फेरि ठूलो पार्टी बन्न सफल रह्यो। भारतको १४औं प्रधानमन्त्री बन्न कांग्रेसका तर्फबाट मनमोहन सिंह आइपुगे। सोनिया गान्धी पार्टी अध्यक्ष थिइन्। साथै संसदीय दलको नेतामा सोनिया नै चुनिइन्। तर उनलाई भाजपा लगायतका दलले संसदमा विदेशी नागरिकको आरोपमा चर्काे विरोध जनाए। त्यसपछि राजीव पत्नी सोनियाले आफ्ना तर्फबाट सिंहलाई संसदीय दलको नेता बनाएर सरकारको नेतृत्व गर्ने अवसर दिइन्।
मनमोहनले उतारचढावका बाबजुद उक्त सरकार ५ वर्ष चलाए। त्यसपछि सन् २००९ भएको निर्वाचनमा पनि कांग्रेस बहुमत बिनाको ठूलो दल बन्यो। उक्त सरकारको नेतृत्व पनि सन् २०१४ सम्म शालिन व्यक्ति मनमोहन सिंहले नै गरे।
मोदी सरकार र कांग्रेसको अवस्था
करिब ६० वर्ष राज गरेको कांग्रेस सरकारको नकाव भाजपाले सन् २०१४ को निर्वाचनमा उतारिदियो। कुनै बेला टुटफुट र गुटका बाबजुद पनि दुई तिहाइको सरकार पटकपटक बनाएको कांग्रेस सन् १९७७ कै गतिमा कूल ४२ सिटमा सीमित हुन पुग्यो। कांग्रेसमा नेतृत्वको अभाव देखियो। त्यसको फाइदा उठाउँदै निर्वाचनमा भाजपाले उभार ल्यायो।
गुजरातमा १४ वर्ष मुख्यमन्त्री रहेका नरेन्द्र दामोदरदास मोदी दिल्लीमा प्रधानमन्त्री हुन आए। गैरकांग्रेसको पहिलो बहुमतप्राप्त दलबाट यतिबेला पनि भारतमा मोदी प्रम छन्। मोदी सरकारले ५ वर्षे कार्यकाल सन् २०१९ मा पूरा गर्दैछ। यस युगलाई भाजपाले विकास युग भनेर दाबी गरिरहेको छ। आगामी लोकसभाको निर्वाचनमा पक्कै त्यसको मूल्यांकन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।