जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आहृवान भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।
मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।
मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले आजै मधेश प्रदेशसभामा आफ्नो भनाइ राख्दै राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गर्दै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएकी हुन् ।
मधेशमा सिंह नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तीन दलले सहमति गरेका छन् । कांग्रेसलाई सबैभन्दा ठूलो दल एमाले र जनमत पार्टीको सर्मथन रहेको छ । तथापि समिकरण फेरिन सक्ने चर्चा पनि भइरहेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।