कञ्चनपुर- भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ।
नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६/१ सबपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन्।
धान कटानपछि खेत जोत्न थालेपछि एसएसबीले रोक लगाएको गुरुङले बताए। रोक लगाएपछि आफूले खेत जोत्न छाडेको गुरुङले बताए।
उनका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए। समयसमयमा भारतीय पक्षले उनले खेती लगाउने समयमा रोक लगाउँदै आएकोमा उनी चिन्तित भएका छन्। धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मीबीच विवाद सिर्जना भएको थियो।
धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए। २०२३ सालदेखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन्। खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।