राजविराज– राजविराजका २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा तीन दिनअघि पक्राउ परेका राजविराज ११ का २० वर्षीय आनन्दकुमार यादव कारागार चलान भएका छन्।
सप्तरी जिल्ला अदालतको मंगलबारको आदेश अनुसार यादवलाई पुर्पक्षका लागि थुना पठाइएको हो। उनी गत शनिबार सुनसरीको लौकहीबाट पक्राउ परेका थिए।
जिल्ला अदालत सप्तरीले आरोपितसहित १३ जनाविरुद्ध हत्या आरोपमा वारेन्टसहितको म्यादी पूर्जी जारी गरेको थियो। प्रहरीले सोही आरोपमा असोज २८ गते राजविराज ११ का १७ वर्षीय एक किशोर र असोज ३१ गते राजविराज १२ का २५ वर्षीय मिथिलेशकुमार यादवलाई पक्राउ गरेको थियो।
मिथिलेश हाल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् भने असोज २८ गते पक्राउ परेका १७ वर्षीय किशोरलाई संरक्षक (आमा) को जिम्मा लगाई तारेखमा रिहा गरिएको छ। मृतकका बुवा भन्नालाल यादवले जिल्ला प्रहरी कार्यालय सप्तरी मार्फत आरोपीविरुद्ध मुद्दा दर्ता गराएका थिए।
वाइसिएल राजविराज नगरपालिका वडा नम्बर १ का सह–संयोजकसमेत रहेका यादवको असोज २४ गते हत्या भएको थियो। युवाहरुको हतियार प्रहारबाट २३ गते राति गम्भीर घाइते भएपछि उपचारार्थ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएका यादवको उपचारकै क्रममा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।