स्वामी आनन्द अरुणबाट ओशोको शिष्यको रुपमा दीक्षित भएको पनि करिब १२ वर्ष पुगेछ। कहिलेकाहीँ पुना आश्रमको बारेमा स्वामी अरुण चित्त दुखाउँदै भन्नुहुन्थ्यो, 'हाम्रो गुरु ओशोलाई पुना आश्रममा नियोजित ढंगले मारिएको हो। त्यो हत्याको पर्दाफास हुनुपर्छ। भारतका संन्यासीहरु जसलाई यो कुरा थाहा छ, उनीहरु डराएका छन्। मुख खोल्दैनन्। पुना आश्रम ओशोले भने जसरी चल्नुपर्छ, रिसोर्टजसरी होइन।'
स्वामी अरुणले पुना आश्रमले ओशोको नाममा गरेको 'कपिराइट व्यापार'लाई चुनौती दिँदै आउनुभयो। उहाँले नेपाल, भारतभरि र संसारका विभिन्न देशमा ओशो कम्युन तथा सेन्टरहरु खोल्न प्रोत्साहन दिनुभयो।
अस्ट्रेलिया आएको दुई वर्षपछि हामी बाइरन बे भन्ने ठाउँमा ओशो आश्रम र संन्यासीहरु खोज्नतिर लाग्यौं। बाइरन बेमा ओशो ध्यान सञ्चालन गरिरहनुभएको रहेछ मा शाहिदोले। हामीले पहिलोपल्ट तपोवन र स्वामी अरुणबारे कुरा गर्दा उहाँले भन्नुभयो, 'मलाई यो व्यक्तिको बारेमा पहिले केहि पनि थाहा थिएन, तर अहिले थाहा छ। यसले संसारभरि ओशोलाई फैलाइरहेको छ। ठिक छ, उसलाई हामी बोलाउनेछौं।'
त्यसपछि स्वामी अरुण अस्ट्रेलिया आएपछि पुराना संन्यासीहरु फेरि ध्यानसँग जोडिन थाले। उनीहरुको उत्साह मैले आफ्नै आँखाले देखेको छु। गत वर्षको मेडिटेसन क्याम्पअघि शाहिदो माले भन्नुभएको थियो, 'हामीले मानिसहरुलाई सूचना दिने र मेडिटेसन क्याम्पको व्यवस्थापना गर्ने हो। बाँकी कुरा कि स्वामी अरुणलाई थाहा छ कि ओशोलाई।'
स्वामी अरुणसँगै हामी न्युजिल्यान्डमा रहेको ओशो कम्युन पुग्यौं। कपिराइटको डरले ओशोको नाम प्रयोग गर्न डराउने पश्चिमा संन्यासीहरुको हुलमा अनौठो कुरा देखियो। न्युजिल्यान्डको कम्युनबाहिर ओशो लेखिएको छ। पहिलोपल्ट त्यहाँ सिद्धार्थसँग पुग्दा हामी दुवै जना हर्षले रोएका थियौं। ओशोसँग नजिक बसेर सुफी मेडिटेसनको सुरुवात र व्यवस्थापन गर्न सघाउने त्यो कम्युनकी मा पार्किन्सन रोगले शिथिल हुनुभएको थियो। तर अनुहारको कान्ति हजार वाटको बत्ती जस्तै।
उहाँहरुले स्वामी अरुणलाई जानी नजानी इन्डियन विशेष खाना खुवाएर प्रेम दर्शाइरहनुभएको थियो। स्वामी जीसँगको भेटमा उहाँले ओशोको मृत्युबारे थुप्रै रहस्य खोल्नुभयो।
'मलाई बोल्न डर लाग्छ,' उहाँ वरपर हेरेर सशंकित बन्नुहुन्थ्यो, 'हो, उनीहरुले ओशोलाई मारे। हामी सबैलाई थाहा थियो, उनीहरु ओशोलाई मार्न षडयन्त्र गर्दैछन् भनेर। त्यही भएर हामीले उनीहरुविरुद्ध बोल्यौं। हामीलाई मार्ने धम्की आयो। त्यसपछि उहाँ पनि पुनाबाट भाग्नुभएछ। ज-जसले त्यो षड्यन्त्रको बारेमा बोल्ने दुस्साहस गरे, ती सबैलाई कि त मारियो, कि पुना आश्रम छोड्न बाध्य बनाइयो।'
भारतकै एउटा आश्रममा ध्यान चलाएर बसिरहनुभएकी चर्चित ओशो संन्यासी अस्ट्रेलियामा आउनुभएको थियो। आफ्नो सारा यौवनकाल र बाँकी धेरै समय पुनामा रहनुभएकी माजीलाई मैले सोधेँ, 'किन छोड्नुभयो पुना आश्रम?'
'हो, उनीहरुले ओशोलाई मारे। हामी सबैलाई थाहा थियो, उनीहरु ओशोलाई मार्न षडयन्त्र गर्दैछन् भनेर। त्यही भएर हामीले उनीहरुविरुद्ध बोल्यौं। हामीलाई मार्ने धम्की आयो। त्यसपछि उहाँ पनि पुनाबाट भाग्नुभएछ।'
उहाँले डराउँदै भन्नुभयो, 'धेरै रहस्य छ, बोल्न मिल्दैन।'
मैले फेरि सोधेँ, 'त्यत्रो समय बिताएको आश्रम छोड्न हजुरलाई गाह्रो भएन?'
त्यसपछि उहाँले भन्नुभयो, 'जुन समाधिमा बसेर हामी मौन ध्यान गर्थ्यौं, त्यो समाधिमा क्यथार्सिस हुन थाल्यो। हामीले विरोध गर्यौं, हामीलाई चेतावनी दिइयो। आश्रमलाई सर्वसाधारणको पहुँचभन्दा परको बनाइयो। महँगो रिसोर्ट स्टाइलमा ओशोको नामको कपिराइट बनाएर बिजनेस गर्न थालियो।'
मैले सोधे, 'हजुरहरु किन यसविरुद्ध बोल्नु हुन्न?'
उहाँले आँसु खसाएर भन्नुभयो, 'विवेकलाई मारे, बोल्यो भने मलाई पनि मार्छन्।'
पाँच वर्षअगाडि बाइरन बेकै एक जना संन्यासी पुना जानुभएछ। किनकि पुना आश्रमको वरिपरि उहाँहरुको पुराना संन्यासी साथीहरु छन्। उहाँलाई संगीतमा रुचि छ। पियानो बजाउन र गीत गाउने सोख छ। उहाँले पुना आश्रमको साँझको उत्सवमा लाइभ संगीत गर्दा ओशो शब्द उच्चारण गर्नुभएछ। त्यसपछि उहाँलाई बोलाएर आइन्दा ओशो शब्द उच्चारण नगर्नु भनेर धम्की दिइएछ- ओशोको ठाउँमा अस्तित्व भन्नु वा नेचर भन्नु तर ओशो नभन्नू।
ओशोको शरीर जलाइसकेपछि उहाँकै प्रेरणामा स्थापित पुना आश्रममा आज ओशोको नाम किन उच्चारण गर्न पाइँदैन? गुरु-शिष्यको सम्पर्कको रुपमा निर्माण गरिएको ओशोको तस्बिर अंकित माला लगाएर पुना आश्रमभित्र जान किन वर्जित छ?
स्वामी अरुणसँगको भेटमा हाम्रो अगाडि नै उहाँले भन्नुभयो, 'अब म पुना जान्नँ। जहाँ मेरो गुरुको नाम समेत उच्चारण गर्न पाइँदैन, त्यो ठाउँमा म किन जाऊँ?'
भारतकै अर्का ध्यानी संन्यासी चैतन्य कृतिले आफ्नो फेसबुक पेजमा लेख्नुभयो- ओशोलाई अमेरिकाको जेलमा हुँदा नै विष दिइएको थियो। त्यही विषको प्रभावले शरीर छोड्नुभयो।
मलाई अन्य विशिष्ट संन्यासीहरुको मत र हु किल्ड ओशो भन्ने किताब पढेपछि लाग्छ– ओशोलाई सुनियोजित ढंगले मारिएको हो।
अमेरिकामा छँदा विष दिइयो। त्यो विषले शरीर गल्न नसकेपछि उहाँको घाँटी थिचिएर मारिएको हुनुपर्छ। नत्र पोस्टमार्टम गर्न नदिई, डाक्टरलाई हप्काइदप्काई गरेर डेथ सर्टिफिकेटमा हस्ताक्षर गर्न किन लगाइयो? ओशोका संसारभरिका संन्यासी भेला हुन नपाई, आफ्नो प्रवचनमा भने जस्तो मेरो समाधि बनाउनु भन्ने निर्देशन नमानी उहाँको शरीरलाई हतारहतार जलाउनुले के संकेत गर्छ?
ओशोको शरीर जलाइसकेपछि उहाँकै प्रेरणामा स्थापित पुना आश्रममा आज ओशोको नाम किन उच्चारण गर्न पाइँदैन? गुरु-शिष्यको सम्पर्कको रुपमा निर्माण गरिएको ओशोको तस्बिर अंकित माला लगाएर पुना आश्रमभित्र जान किन वर्जित छ? सेक्सको वैज्ञानिकतालाई छर्लंग बनाउनुहुने ओशो जस्तो महान् गुरुको आश्रममा पस्न किन ब्लड चेक गर्नुपर्छ? आश्रम भित्र सेक्स गर्न जान्छन् कि ध्यान गर्न? ध्यान गरेपछिको मादकता कुनै मादक पदार्थको भन्दा कम हुँदैन भन्ने अनुभव हामी सबैलाई थाहा छ। पुना आश्रममा ध्यान सेसनपछि उत्सवको रुपमा किन मादक पदार्थ सेवन गरिन्छ?
यस्ता थुप्रै प्रश्न हामी ओशोलाई माया गर्ने र ओशो मार्गमा हिँड्ने संन्यासीहरुको सामु अझै छ। मेरो बुझाइमा, स्वामी अरुणले पुना आश्रमको होइन, पुना आश्रम व्यवस्थापनको विरोध गर्नुभएको हो। म पनि कुनै दिन, मेरो गुरु ओशोले स्थापना गर्नुभएको पुना आश्रममा गएर ओशो बस्नुभएको घर, हिँड्नु भएको बगैंचा, बाटो आँखाभरि हेर्नेछु। तर, 'हत्याराहरु' व्यवस्थापनबाट निस्किएपछि।
हाल : सिड्नी, अस्ट्रेलिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।