काठमाडौं- कूटनीतिज्ञ जयराज आचार्य र बिपी कोइरालाको सम्बन्धबारे मलाई उति जानकारी थिएन। जम्माजम्मी एउटा कुरा थाहा पाएको थिएँ– आचार्यले बिपीको अन्तर्वार्ता लिएका थिए।
न्युन जानकारीको साथ आचार्यका घरमा पुग्दासम्म मलाई उनीबाट के कुरा खोज्ने होला भन्ने विषयले तनाव दिइरहेको थियो। कुराकानी गरिरहेका मानिस खुला रुपमा प्रस्तुत भएनन् भने बडो सकस हुन्छ। त्यसमाथि आफूसँग त्यस विषयबारे जिज्ञासा पैदा गराउने तहको ज्ञान भएन भने झन् बढी अप्ठ्यारो बेहोर्नुपर्ने हुन्छ।
त्यसमाथि ५ बजे घरमै आइपुग्छु भनेर वाचा गरेको थिएँ। आफूलाई हतार भएर के गर्नु, काठमाडौंको जामलाई हतार हुँदैन। यसो पनि भन्न सकिएला कि, जुन बेला मानिसहरुलाई हतार हुन्छ, त्यही दिन सडकमा पनि जाम हुन्छ।
आचार्यको घर पुग्दा झन्डै २० मिनेट बढी बितिसकेको थियो।
आचार्यको घर छेउछाउ पुगेर फोन गर्दा, उनले बोलेको पहिलो ‘हेलो’ले नै उनको सहजता र खुलापनको आभास दिइहाल्यो।
मैले खास केही नसोध्दै बिपीको आनीबानीबारे आचार्यले कुरा सुरु गर्न थालिहाले। उनले देखेका र संगत गरेका बिपीबारेको सामग्री नेपाल लाइभमा बिपीको जन्मजयन्तीको दिन नै विस्तृतमा प्रकाशित भइसकेको छ।
कुराकानीको मध्यतिर अचानक लक्ष्मीप्रसाद देवकोटाको प्रसंगमा हामी प्रवेश गरेका थियौं। सुरुमा आचार्यले बिपीले देवकोटाबारे पढेको कुनै पुरानो पत्रिकाको सामग्रीबारे सम्झिएका थिए।
‘बिपीले देवकोटालाई निकै आदर गर्नुहुँदो रहेछ,’ आचार्यले कुरा सुरु गरे, ‘दुवै साहित्यिक व्यक्तित्व भएकाले पनि त्यस्तो भएको हुन सक्छ।’
दुखद संयोग मान्नुपर्छ, बिपी प्रधानमन्त्री भएकै बेला लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको थियो। टुँडिखेलमा शोकसभा भयो। त्यहाँ बिपीले भनेका कुरा आचार्यले दोहोर्याए, ‘लक्ष्मीप्रसाद देवकोटाले नेपाली समाजको जुन परिकल्पना गर्नुभएको थियो। उहाँले परिकल्पना गरेको समाजलाई हामीले यथार्थमा परिणत गर्न सक्यौं भने देवकोटा प्रति सच्चा श्रद्धान्जली हुनेछ।’
बिपीसँग संगत बढ्न थालेपछि आचार्यलाई देवकोटाका सन्तानहरुबारे सोधेका रहेछन्। आचार्यलाई बिपीले भनेका रहेछन्, ‘म प्रधानमन्त्री हुँदा उहाँका छोराहरुलाई सेन्ट जेभियर्स स्कुलमा सरकारले शुल्क तिरेर पढाउने भनेर व्यवस्था गरेको थियो। मलाई उनका छोरा भेटाइदेऊ।’
देवकोटाका छोरा पद्मप्रसाद देवकोटा आचार्यका सहपाठी थिए। एमए अंग्रेजी सँगै पढेका थिए उनीहरुले। त्यसपछि उनी देवकोटाको घर गए। आचार्य र पद्म आआफ्नो साइकल चढेर बिपी बस्ने घरतिर लागे।
बिपी र पद्मबीच कुराकानी भयो। बिपीले देवकोटासँग सम्बन्धित केही प्रसंग पद्मलाई सुनाए। सँगै बसेर त्यो वार्तालाप सुनेका आचार्यले साढे तीन दशकपछि हामीलाई उनकै घरमा सुनाइरहेका थिए।
‘सम्भवतः सन् १९२८ तिरको कुरा हुनुपर्छ। हामी न्युरोडतिर बस्थ्यौं। म बनारस पढ्थेँ, देवकोटा पटनामा बिएल पढ्थे। एकपटक भारत जाने बेला सँगै पर्यौं। जाँदै गर्दा थानकोटतिर देवकोटा भेटिएका थिए,' बिपीले पद्मलाई भनेका कुरा आचार्यले सुनाए।
बाटोमा बिपी र देवकोटाबीच वर्डस्थवर्थको कविता ‘सोलिटरी रिपर’ बारे छलफल भयो। कविता गहुँ काट्ने बेलायती कृषककी छोरीलाई पात्र बनाएर लेखिएको छ।
‘हामी चित्लाङ पुग्यौं। त्यहाँ घाँस काटिरहेकी एउटी युवतीलाई देखाएर देवकोटाले भन्नुभयो– वर्डस्वर्थले कविता लेखेको यस्तै केटीको बारेमा हो,' बिपीका कुरा आचार्यले सम्झिए।
‘बिपीलाई अचम्म लागेछ। उहाँले सोच्नुभयो, कविता त यथार्थमै आधारित भएर पनि लेखिने रहेछ। मैले जुन कविता पढेको थिएँ, त्यो जीवनको वास्तविकतासँग मेल खाएको महसुस भयो।’
यतिबेला हामीले कुराकानी गर्न थालेको झन्डै चालीस मिनेट नाघिसकेको थियो। आचार्य खुल्दै गइरहेका थिए। म थप जिज्ञासु भइरहेको थिएँ। मेरो जिज्ञासामा थप कौतुहलता थप्दै आचार्यले एउटा वाक्य बोले– बिपीले देवकोटा बारे सुनाएका अर्को एउटा कुरा तपाईंलाई सुनाउँछु, जुन आजसम्म मैले कसैलाई सुनाएको छैन, कतै लेखेको पनि छैन।
‘देवकोटाजी काठमाडौंको कट्टर ब्राह्मण परिवारमा जन्मेहुर्केका मानिस हुनुहुन्थ्यो। धोती फेरेर भात खाने, बाहुनले पकाएको मात्रै खाने। हामीचाहिँ भारततिर बसेको अलि खुला मानिस थियौं। जसले पकाएको पनि खाने, धोती नफेरीकन पनि खान्थ्यौँ। तर, देवकोटा त लसुन, प्याज पनि खानुहुन्न रहेछ,’ बिपीको भावसमेत सकेसम्म तान्न खोज्दै बिपी अवतारमै आचार्य बोल्दै थिए।
बाटोमा बिपीको भान्छेले लसुनप्याज हालेरै तरकारी पकाए। उनले देवकोटालाई पनि त्यही तरकारी दिए।
‘हामीले लुगा नफेरी खायौं, देवकोटाले पनि लुगा नफेरी खानुभयो,' आचार्यले बिपीका वाक्य सम्झिए, ‘लसुन प्याज हालेर पकाएको तरकारी खाएपछि देवकोटाले भन्नुभयो– यो त मिठो पो हुँदो रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।