काठमाडौं– भारतमा रद्दी कागज बनेका पाँच सय र एक हजारका भारतीय नोटको नेपाली बजार भने फस्टाएको छ। भारतमा नोटबन्दी भएयता विभिन्न सात घटनामा प्रहरीले चार करोडभन्दा बढी रकम र ३६ जनालाई पक्राउ गरेको छ।
शनिबार मात्र स्वयम्भू प्रहरीले करिब ६८ लाख प्रतिबन्धित भारतीय नोट बरामद गरेपछि यसको अवैध कारोबारको केन्द्र नेपाल बन्न थालेको देखिएको छ।
नेपाल सरकारले प्रतिबन्धित भारतीय नोटका विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेका कारण प्रतिबन्धित भारतीय नोट काठमाडौंमा थुपार्न ठूलो गिरोह सक्रिय रहेको आशंका छ। नेपाल राष्ट्र बैंकले समेत विभिन्न वित्तीय संस्थासँग रहेका प्रतिबन्धित नोटका विषयमा स्पष्ट निर्देशन नदिएको अवस्थामा सो गिरोह केही वित्तीय संस्थासँगको सहकार्यमा नोट थुपार्न सक्रिय भएको आशंका गरिएको हो।
अर्थ मन्त्रालय उच्चका स्रोतका अनुसार प्रतिबन्धित भारतीय नोटको यकिन मौज्दातका विषयमा राष्ट्र बैंकले हालसम्म स्पष्ट लगत नलिँदा आशंका उब्जिएको हो।
स्रोतका अनुसार भारतको बंगाल, हरियाणा, दिल्ली, उत्तर प्रदेश र बिहार राज्यबाट प्रतिबन्धित नोट काँकडभिट्टा, जोगवनी, रक्सौल सुनौली र रुपैडिहा नाका हुँदै नेपाल भित्रने गरेको छ। नेपालमा रहेका वित्तीय संस्थामा अदृश्य लगानी गरेका यी राज्यका उच्च राजनीतिक नेतृत्व र व्यापारीले नेपाली र भारतीय भरिया मार्फत नोट काठमाडौं थुपारेको हुनसक्ने अनुमान गरिन थालिएको हो।
भारतले गत वर्ष पाँच सय र एक हजारका पुराना नोट बन्द गरेको घोषणा गरेको केही समयपछि २०७३ पुष २२ मा दुई करोड १६ लाखभन्दा बढी रकम काठमाडौंमा बरामद भएको थियो। नोटका साथ पक्राउ परेका १५ मध्ये सुरेन्द्रकुमार संघाई र भारतीय नागरिक दिनेशकुमार अग्रवालको नियमित सम्पर्क र व्यापारिक पृष्ठभूमिले प्रतिबन्धित भारतीय नोट सस्तोमा किनेर महँगोमा बेच्नका लागि जोखिम लिएको अनुमान गर्न कठिन हुने एक अनुसन्धान अधिकारीले बताए।
उनका अनुसार त्यसयता ब्युरोले गरेका कारबाहीमा नोटका साथ पक्राउ परेका भारतीय गरिकको पृष्ठभूमि भरिया भन्दा निकै उच्च रहेका कारण समेत नोटबन्दीको भित्री कारण नेपालमा नोट साट्न आउने मौकाको आसा रहेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न समयमा गरेका ६ वटा अलग–अलग कारबाहीमा ३ करोड ४० लाख ५ हजार बरामद भइसकेको छ। यस्तै, तस्करीमा संलग्न ३४ जना भारतीय र नेपाली नागरिक पक्राउ परिसकेका छन्।
ब्युरोका एसपी मिरा चौधरीका अनुसार पक्राउ परेका आरोपीले सस्तोमा खरिद गरी महँगोमा विक्री गर्न नोट ल्याएको बयान दिएका छन्। उनका अनुसार भारतमा प्रति १ हजार २ सय ५० मा खरिद गर्ने र नेपालमा प्रति हजार ३ सयदेखि ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ।
‘पक्राउ परेकाहरुको बयानमा ठगी र मुनाफा मुख्य कारण देखिएको छ, अन्य विषयमा थप अनुसन्धान भइरहेको छ,’ एसपी चौधरीले भनिन्। उनले कारोबारमा संलग्न मुख्य व्यक्ति पहिचान हुन नसकेको बताइन्। महानगरीय प्रहरी वृत्त स्वयम्भुले विशेष सूचनाका आधारमा गुडिरहेको बा९च ९००९ नम्बरको भ्यान चेकजाँच गर्दा करिब ६८ लाख भारतीय रुपैयाँ बरामद गरेको हो। सो भ्यान प्रकाशचन्द्र श्रेष्ठले चलाएका थिए।
पक्राउ पर्नेहरुमा बाँके कोहलपुर घर भई हाल गोंगबु बस्ने ४१ वर्षीय कृष्णकुमारी शर्मा र सोही ठाउँ बस्दै आएका गोरखाका २९ वर्षीय अर्जुन भण्डारी छन्। उनीहरुले झोलामा लुकाइछिपाइ ५ सय र हजार दरका भारतीय नोट बोकेका थिए।
वृत्त प्रमुख डिएसपी किशोर श्रेष्ठले पक्राउ परेका आरोपीले सर्वसाधारणलाई ठगी गर्न नोट ल्याएको प्रारम्भिक बयानमा बताएको जानकारी दिए। नोटबन्दीका विषयमा जानकार नरहेका क्षेत्रमा नोट साट्ने उनीहरुको योजना रहेको हुनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।