काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्स विजयी भएको छ।
विराटनगरले शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्याल क्रिकेट मैदानमा भएको खेलमा ललितपुर प्याट्रियटलाई ३ विकेटले पराजित गरेको हो।
कम रन बनेको खेलमा ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले १ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्यो। विराटनगरका लागि करण केसीले नटआउट ३६ रन जोडे। उनले १९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाउन उत्कृष्ट ब्याटिङ गरे। आसिफ शेखले ३० बलमा १९ रन र अनिल साहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
विराटनगरले १४ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएको थियो। बलिङमा ललितपुरका गौतम तोमारले ३ विकेट लिए। उनले ४ ओभरमा १० रन खर्चिए। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै २ विकेट लिए। उनले १२ रन खर्चिए। ललितनारायण राजवंशीले १ विकेट लिए।

त्यसअघि ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रन मात्र जोड्न सक्यो। ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्ल १ रनबाट अर्धशतक बनाउन चुके। ४९ रनमा आउट हुनुअघि उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै पवन सर्राफले २१ बलमा १४ रन जोडे। यस्तै सनी पटेलले १५ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडे।
बलिङमा विराटनगरका करण केसी र भार डेर मार्वीले २–२ विकेट लिए। यस्तै स्मित पटेल र पारस खड्काले १–१ विकेट हात पारे। ब्याटिङमा पनि योगदान दिएका करण खेलको म्यान अफ दि म्याच भए। प्रतियोगिताअन्तर्गत आइतबार ललितपुर र चितवन टाइगर्सबीच विहान ९ बजे हुनेछ। यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडियटर र पोखरा राइनोजबीच खेल हुनेछ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।