काठमाडौं– एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए।
शनिबार पहिलो खेल अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्सबीच हुनेछ। विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ। पन्ध्र दिनसम्म चल्ने सो प्रतियोगितामा १९ खेल हुनेछन्। प्रतियोगिताको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्स लिडर्स’ छन्। यसपटक प्रतियोगितामा आठ देशका १९ विदेशी खेलाडी खेल्दैछन्।

राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा प्रत्येक दिन दुई÷दुई खेल हुनेछन्। मङ्सिर २३ गते ललितपुर प्याट्रियर्स र चितवन टाइगर्स तथा दोस्रो खेल भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच तथा मङ्सिर २४ गते चितवन र काठमाडौँ तथा पोखरा र ललितपुरबीच खेल हुने। मङ्सिर २५ गते विराटनगर र पोखरा तथा चितवन र भैरहवाबीच खेल हुने आयोजकले जनाएको छ ।
यस्तै मङ्सिर २६ गते भैरहवा र विराटनगर तथा काठमाडौँ र ललितपुरबीच, मङ्सिर २८ गते विराटनगर र चितवन तथा पोखरा र काठमाडौँबीच खेल हुनेछ। मङ्सिर २९ गते भैरहवा र काठमाडौँ तथा चितवन र पोखराबीच, पुस १ गते ललितपुर र भैरहवाबीच तथा पुस २ गते भैरहवा र काठमाडौँबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगितालाई आइसिसीले मान्यता दिइसकेको छ। दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ। विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० शुल्क लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।