एजेन्सी– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत रियल म्याड्रिडले फराकिलो अन्तरको जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ। रियलले बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा तेस्रो डिभिजनको क्लब मेलिल्नालाई ६–१ गोल अन्तरले पराजित गर्यो।
पहिलो लेगमा ४–० गोलले विजयी भएको रियलले समग्रमा १०–१ गोलको नतिजासहित अन्तिम १६ मा स्थान पक्का गरेको हो।
घरेलु मैदानमा भएको खेलमा रियलका लागि असेन्सियोले खेलको ३३ र ३५ मिनेटमा गरी २ गोल गरे। सान्चेज डे फिलिपोले ३९ मिनेटमा अर्को गोल गरेपछि रियल पहिलो हाफमै ३–० ले अघि बढेको थियो।
खेलको ४७ र ८३ मिनेटमा गरी इस्कोले २ गोलले गरेपछि रियल खेलमा पूर्ण रुपमा हाबी बन्यो। रियलका लागि अर्को गोल ओलिभिएरा जुनियरले ७५ मिनेटमा गरेका थिए। ८५ मिनेटमा मेलिन्नाका लागि क्वास्मीले पेनाल्टीमा सान्त्वना गोल फर्काउन सफल भए।
प्रतियोगिताको अन्य खेलमा लेभान्तेले लुगोमाथि ३–१, स्पोर्टिङ गिजोनले एइबारमाथि ४–२, एथलेटिको बिल्बाओले हुइस्कालाई ८–० र रियल बेटिसले रेसिङलाई ५–० गोलले हराएर अन्तिम १६ मा स्थान पक्का गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।