काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबारबाट छैटौं चरणका खेल सकिएका छन्।
छैटौं चरणको अन्तिम खेलमा बिहीबार मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे। जारी लिगमा मच्छिन्द्रको यो तेस्रो बराबरी हो। अझै जितको पर्खाइरमा रहेको मच्छिन्द्र ३ खेलमा भने पराजित भइसकेको छ।
मच्छिन्द्र ३ अंक जोडेर अंक तालिकाको पुछारबाट दोस्रो १३औं स्थानमा छ। यता ब्रिगेडको भने यो पहिलो बराबरी हो। लिगमा १ जित निकालेको उसले ४ खेलमा हार बेहोरिसकेक छ।
यसअघि दिनको पहिलो खेलमा पनि त्रिभुवन आर्मी क्लबलाई फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ।
लिगको छैटौं चरणको खेल सकिदासम्म शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबले शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ।
पाँच जित हात पारेको थ्रीस्टार क्लबको १५ अंक छ। थ्रीस्टार लिगमा मनाङसँग मात्र पराजित भएको थियो।
तेस्रो स्थानको संकटा क्लबको पनि १५ अंक छ। उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबको १४ अंक छ। आर्मी पनि मनाङ जस्तै अपराजित टिम हो। यद्यपी आर्मी २ खेलमा बराबरीमा रोकिएको छ भने ४ खेलमा जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।