काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ ।
सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे।
खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए। यस खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अङ्क जोडेको छ। लिगको अङ्क तालिकामा भने आर्मी चौथो स्थानमा यथावत् छ। जसले शीर्ष स्थानको मनाङलाई फाइदा पुगेको छ। शीर्ष स्थानमा रहेको मनाङले लगातार ६ जित निकाल्दै १८ अंक जोडेको छ। आर्मीले जित निकालेको भए उ दोस्रो स्थानमा उक्लिदै मनाङलाई दबाब दिने थियो।
त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अङ्कका साथ लिगको दशौँ स्थानमा यथावत् छ।
तस्बिर– एन्फा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।