ad

एक हिम्मतिला नेपाली, जसले काबुल बम आक्रमणमा यसरी बचाए ज्यान [भिडियो]

डिबी खड्का

Nepal Live

काठमाडौं– गत बुधबार अफगानिस्तानको काबुलमा १० जनाको ज्यान जानेगरी बम विस्फोट तथा गोलाबारी भयो। आक्रमणमा ११ नेपाली घाइते भए। विद्रोही तालिवान समूहले गरेको आक्रमणमा घाइते ११ नेपालीमध्ये ८ जनाको अवस्था गम्भीर छ। ३ जना सामान्य उपचारपछि काममा फर्किइसकेका छन्।

शक्तिशाली विस्फोट र त्यसपछि भएको ८ घन्टा लामो भिडन्तबाट जोगिन सफल २ जनालाई थप उपचारका लागि नेपालकै नर्भिक अस्पताल ल्याइपुर्‍याइएको छ।

झापा दमकका तेजप्रसाद आचार्य तिनैमध्येका एक हुन्, जसले छेउबाटै गुज्रेको मृत्युलाई छल्न सफल भए।

बेलायती सुरक्षा सम्बन्धी कम्पनी ‘जिफोरएस’ अन्तर्गत अफगानिस्तानमा सेक्युरिटी अफिसरका रुपमा कार्यरत उनी नर्भिक अस्पतालको बेडबाट जीवनको त्यो कहालीलाग्दो क्षण सम्झिरहन्छन्। तर, त्यसले उनलाई जीवन जिउने हकमा कत्ति पनि विचलित बनाएको छैन।

उनी निर्धक्कसँग भन्छन्, 'हिम्मतले बचायो।'

यदि उनी बम विस्फोटपछि छातीमा भएको असह्य पीडामा रन्थनिएर बस्दा हुन् त जे पनि हुन सक्थ्यो। त्यो समय उनी छातीमा अँठ्याउन आइपुगेको कालसँग जुध्न कस्सिए। आँटका साथ अघि बढे। जसको परिणाम आज उनी निको हुने क्रममा छन्। उक्त घटनामा परेर उनको छाती, ढाड र अनुहारमा चोट लागेको छ। अहिले त्यसैको उपचार गराइरहेका छन्। 

घटना हुँदै गर्दा आचार्य के गर्दै थिए त?

साँझ करिब ६ बजे। आचार्य खाना खाने तयारीमा थिए। लगत्तै ड्युटी थियो। उनी कार्यरत क्याम्पबाट ड्युटी गर्ने अफिस १० किलोमिटर टाढा पर्छ। अफिस जाँदा समूहगत रुपमै जाने व्यवस्था थियो। 'साथी तयार भइसक्यो होला, सँगै खाना खानुपर्छ भनेर साथीको कोठातिर लागेँ,' घटनाअघिको क्षणलाई उनी सम्झन्छन्।

साथीको कोठामा पुगेका मात्रै के थिए, ठूलो आवाज आयो। पूरै जमिन हल्लियो।

छातीमा असह्य पीडाको महसुस गरे उनले। घोप्टो परेर बसे। बोल्न, चिच्याउन र सहयोग माग्न चाहन्थे। तर, आवाज निस्किएन। केही बेरमा उनलाई लाग्यो– विद्रोहीले आक्रमण गरेको हुन सक्छ।

तत्कालीन समय क्याम्प वरिपरि के भइरहेको छ भन्नेभन्दा उनलाई छातीको पीडाबोध बढी थियो। सुरुमा ज्यान जोगाउनुपर्छ भन्ने लागेपछि बंकरतिर भाग्ने सोच बनाए। तर, गहिरो पीडाका कारण शरीर डेग चल्न मानेन। आचार्यले हिम्मत हारेनन्। एक हातले छाती च्यापेर बंकरसम्म घिस्रिँदै पुगे।

उनी पुग्दा बंकरभित्र पस्नेको भिड थियो। बमको धमाकापछि दोहोरो भिडन्त भइरहेकोे कर्कश ध्वनि लगातार आइरहेको थियो। 

‘ज्यान बचाउन अधिकांशले सिँढी झर्नेभन्दा पनि सिधै चिप्लिएर जाने छोटो बाटो रोजिरहेका थिए,’ उनले सुनाए, ‘मैले पनि त्यसै गरेँ।’

छातीको चोटले असह्य पीडामा रहेका उनलाई खासमा आफूलाई के भइरहेकोे भन्नेसम्म हेक्का थिएन। त्यसमाथि बंकरमा झर्दा उनको नराम्रोसँग ढाड बज्रिन पुग्यो। पीडामाथि झन् पीडा थपियो। यद्यपि ढाडको पीडा कम मात्रै महसुस गरेको बताउँछन् उनी, जति छाती दुखेको थियो।

रातको २ बजेसम्म भिडन्त जारी रह्यो। यता आचार्यको छातीको पीडाको ग्राफ पनि उकालो लागिरहेको थियो। झन्डै ८ घन्टा उनी छातीको पीडा बोकेर छटपटाइरहे। जब विद्रोही भिड्न नसकेर भागे, त्यसपछि मात्रै घाइतेको उद्धार गर्ने टोली आयो। उनलाई आर्मीहरुकै उपचार केन्द्रमा लगियो र तत्कालै उपचार सुरु गरियो।

आचार्यलाई उद्धार गर्ने ब्रिटिस आर्मीले घरमा खबर गरे/नगरेको बारे सोधे। उनले खबर नभएको बताएपछि ब्रिटिस आर्मीमै कार्यरत एक नेपालीलाई बोलाएर आचार्यको परिवारसँग सम्पर्क गराउने काम भयो।

उनले श्रीमतीलाई फोनमा भने, ‘ठूलो बम विस्फोट भयो। म बाँचे, तर उपचारमा छु।’

घरमा कुरा हुँदा नेपालमा बिहानको ५ बज्नै लागेको थियो। मस्त निद्राबाट ब्युँझिएर फोन उठाउँदा श्रीमतीले दुःखको खबर सुनिन्, श्रीमान् घाइते भएको। तर, आचार्यले मृत्युलाई छलेर बाँच्न सफल भएको ‘खुसी’ सुनाउन श्रीमतीलाई फोन गरेका थिए। आचार्यले पहिलोपल्ट महसुस गरे, ‘खुसी त केही पाउनुमा मात्रै होइन, केही नगुमाउनुमा पनि हुँदो रहेछ।’

२०६४ सालमा नेपाल आर्मीको सुवेदारबाट रिटायर्ड उनी साढे ७ वर्षअघि अफगानिस्तान पुगेका हुन्। तर, यस्तो घटना भने उनले जीवनमै पहिलोपल्ट बेहोरेको बताए।

द्वन्द्वकालमा रुकुम र रोल्पासमेत बसेका उनी केही ठाउँमा दोहोरो फाइरिङमा पनि परे। केही साथी घाइते भएको उनी आफैंले देखे पनि। ‘तर आफैंमाथि भने यस्तो पीडा परेको थिएन,’ भन्छन्, ‘परिआउँदा कसरी ज्यान जोगाउनुपर्छ भन्ने थाहा थियो। त्यही उपाय लगाइयो।’

आचार्यको ४ दिनसम्म सोही अस्पतालमा उपचार भयो। प्रारम्भिक रिपोर्टका अनुसार बमको आवाजले उनको छातीको हड्डी चर्केको चिकित्सकहरुले बताएका थिए।

केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले आचार्यसहित २ जनालाई एयर एम्बुलेन्सबाट उपचार गर्न नेपाल ल्याइएको जिफोरएसका नेपाल प्रतिनिधि जितबहादुर घर्ती बताउँछन्। उनका अनुसार बाँकी केही घाइते नेपालीको भारतस्थित अपोलो अस्पताल र केहीको अफगानिस्तानमै उपचार भइरहेको छ।

केही समय त्यहाँ उपचार भएपछि लामो समयसम्म अस्पताल रहनुपर्नेलाई नेपालमै ल्याइने जानकारी उनले दिए। घाइतेको उपचारमा कमी हुन नदिन घटना भएदेखि नै उनी सक्रिय छन्। घर्ती भन्छन्, ‘उहाँहरुको राम्रो उपचारका लागि हामी प्रयास गरिरहेका छौं।’

लामो समयदेखि द्वन्द्वग्रस्त अफगानिस्तानमा जिफोरएस अन्तर्गत ४ सयको हाराहारीमा नेपाली कार्यरत छन्। यसैगरी बेलायती सैनिकका रुपमा पनि केही नेपाली त्यहाँ खटिएका छन्। यसबाहेक २० हजारजति नेपाली अफगानिस्तानमा कार्यरत रहेको एक अनौपचारिक तथ्यांक छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने