काठमाडौँ– यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १९ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्स, हङकङ दक्षिण अफ्रिकाका १९ खेलाडीले सहभागिता जनाउनेछन्।
पृथु बाँस्कोटा कप्तानीमा रहेको चितवन टाइगर्सले पाउल स्टर्लिङ (आयरल्याण्ड),जोन सिमसोन र जर्ज स्कट (इङल्याण्ड)लाई क्लबमा अनुबन्ध गरेको छ।
शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्समा रायन टेन डोसच्याटे (नेदरल्याण्डस), मोहम्मद नाभिद (युएई) र रवि इन्दर सिंह (भारत) आवद्ध छन्।
पारस खड्काको कप्तानीको विराटनगर वारियर्सले चार विदेशी खेलाडी अनुबन्धन गरेको छ। बाबर हायत (हङकङ), पाउल भान मेकेरेन (नेदरल्याण्डस), रुलोफ भान डेर मर्वे (नेदरल्याण्डस) र स्मीत पटेल भारतलाई अनुबन्ध गरेको छ।
सोमपाल कार्मीको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ ले रोहन मुस्तफा (युएई) र केभिन ओ ब्रायन (आयरल्याण्ड) सँग सम्झौता गरेको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीको ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर (भारत)लाई ल्याएको जनाएको छ।
पोखरा राइनोजले सन्नी भिमसारिया (हङकङ), कोइटजर कोइट्जर (स्कटल्याण्ड), पाउल कोलिन र रिचार्ड लेभी (दक्षिण अफ्रिका)लाई ल्याएको छ ।
यही मङ्सिर २२ गतेदेखि शुरु हुने उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।
मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।