हुम्ला– हुम्लाको उत्तरी गाउँपालिकामा मोबाइल फोनको टावर बिग्रँदा एक महिनादेखि सेवाग्राही मर्कामा परेका छन्।
उक्त टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए।
नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयबासीले सञ्चो, बिसञ्चो खबरसँगै अति आवश्यक कुराकानी गर्न नपाएको गुनासाे पाेखे।
घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरे।
यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए।
मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ।
त्यस क्षेत्रका स्थानीयबासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ।
हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।