डोटी– डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन)ले २०६३ सालदेखि एचआइभी संक्रमितहरूले सेवन गर्ने एआरटी सेवन छाडेकी छन्।
आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने उनी जिद्दी गर्छिन्।
एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको संक्रमण हुन थालेको छ। धनसराजस्तै अन्य संक्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन्।
'स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्', सङ्क्रमित कमला मल्ल भन्छिन्, 'एक महिलाले २४ महिनासम्मको औषधि घरमै थन्क्याएको पाइयो।'
विसं २०६२ मा पहिलो पटक आफू एचआइभी संक्रमित भएको भन्दै खुला बनेकी कमला भन्छिन्, 'कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन्।'
पछिल्लो समय यस्तो समस्या देखिएको डोटी जिल्ला अस्पतालका डा गिरीस अवस्थी बताउँछन्। 'लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो', डा अवस्थी भन्छन्, 'लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन्।'
सोही अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा भुषण मिश्र पनि संक्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरूले बीचमै सेवन गर्न छाड्ने बताउँछन्।
'लगातार औषधि सेवनले साइड इफेक्ट हुन्छ भन्ने बुझाइ रहेको छ', डा मिश्र भन्छन्, 'तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन्।'
जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कबिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मी जानकारी दिन्छन्।
विश्व एड्स दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल ७ सय ६४ संक्रमितमध्ये १ सय ५१ को मृत्यु भइसकेको बताउँदै ६० जनालाई जिल्ला बाहिर सिफारिस गरिएको छ।
‘एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऊँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागीमध्ये आठ जनाको एचआइभी परीक्षण गरिएकामा कसैमा पनि संक्रमण देखिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।