बार्सिलोना- स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको छ।
बार्सिलोनाले अन्तिम ३२ को दोस्रो लेगको खेलमा कल्चरल लियोनेसालाई ४-१ गोलले हरायो। यसअघि पहिलो लेगमा १-० को जित निकालेको बार्सिलोनाले समग्रमा ५-१ को नतिजासहित अन्तिम १६ मा पुग्न सफल भयो।
बुधबार भएको दोस्रो लेगमा बार्सिलोनाका लागि इल हडाडीले १८ मिनेटमा पहिलो गोल गरे। उत्कृष्ट लयमा देखिएका डेनिस सुआरेजले २६ र ७० मिनेटमा गरी २ गोल गरे। २४ वर्षीय स्पेनिस खेलाडी सुआरेजले सिजनमा बार्सिलोनाका लागि ८ खेलमा मात्र अवसर पाएका छन्। त्यसअघि माल्कोमले खेलको ४३ मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए। कल्चरलका लागि सेनेले ५४ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित भयो।
प्रतियोगिताको अन्य खेलमा एट्लेटिको म्याड्रिडले सान्ट एन्ड्रिउलाई ४-०, सेभिल्लाले भिल्लानोभर्सलाई १-०, भिल्लारियलले अल्मेरियालाई ८-०, रियल सोसिडाडले सेल्टा भिगोलाई २-० र गिरोनाले अलाभेसलाई २-१ ले हराएर अन्तिम १६ मा स्थान बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।