एजेन्सी- इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई वुल्भ्सले पराजित गरेको छ। बुधबार राति भएको खेलमा वुल्भ्सले चेल्सीमाथि २-१ को जित हात पारेको हो।
खेलको १८ मिनेटमा लोफ्टम चेकले गोल गरेर चेल्सीलाई अग्रता दिलाएका थिए। तर जामिनेजले खेलको ५९ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। ६३ मिनेटमा जोटाले अर्को गोल थपेपछि वुल्भ्सले जित हात पार्न सफल भयो।
यता दोस्रो स्थानको लिभरपुलले वर्नलीलाई ३-१ गोलले हराएको छ। खेलमा अग्रता भने वर्नलीले खेलको ५४ मिनेटमा क्रोकको गोलबाट लियो। तर लिभरपुलका जेम्स मिल्नरले ६२ मिनेटमा बराबरी गोल फर्काए। रोबर्टो फिर्मिनोले ६९ र साकिरिले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि लिभरपुल विजयी भयो।
टोटनह्यामले साउथह्याम्टनलाई ३-१ गोलले पराजित गर्यो। टोटनह्यामका लागि ह्यारी केनले नवौं, लुकास माउराले ५१ र सन हेयुङ मिनले ५५ मिनेटमा गोल गरे। साउथह्याम्टनका अस्टिनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
म्यानचेस्टर युनाइटेड र आर्सनलले २-२ गोलको बराबरी खेले। आर्सनलले खेलको २६ मिनेटमा मुस्ताफीको गोलबाट अग्रता लियो। तर ३० मिनेटमा युनाइटेडका मार्टियलले बराबरी गोल फर्काए। ६८ मिनेटमा मार्कोस रोजोको आत्मघाती गोलबाट आर्सनलले फेरि अग्रता लियो। तर एक मिनेटपछि लिङगार्डले बराबरी गोल फर्काए।
लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४१, दोस्रो स्थानको लिभरपुलको ३९, तेस्रो स्थानको टोटनह्यामको ३३ अंक भने चौथोको चेल्सी र पाँचौ स्थानको आर्सलनको ३१-३१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।