पोखरा– विभिन्न समयमा राज्यले सुकुम्बासी व्यवस्थापनका लागि लालपुर्जा उपलब्ध गराउने भन्दै आयोग बनाए पनि कार्यान्वयन नहुँदा सुकुम्बासीको समस्या जटिल बन्दै गएको छ।
पोखराका विभिन्न स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्तीको जग्गाको महत्व बढ्दै गएकाले केही व्यक्तिले आफ्नाे जग्गा भएको जिकिरसहित बस्ती हटाउने प्रयास सुरु गरेका छन्।
पोखरा महानगरपालिका–१४ रातमाटे डाँडामा रहेका सुकुम्बासीलाई परिचयपत्रसहित बसोबास क्षेत्रको सुचीकृत गरिएकामा अहिले केही व्यक्तिले आफ्नो जग्गा भएको जिकिर गरेर दुःख दिन थालेकाले उनीहरु यतिखेर समस्यामा परेका छन्।
सो क्षेत्रमा बसोबास गर्न अनुमति दिइसकेको अवस्थामा केही व्यक्तिले जग्गा ओगट्ने मनसायले आफूहरुलाई त्रस्त बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्बासीले जीवन सुरक्षा तथा गाँसबासको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
विगत २५ वर्षदेखि क्षेत्रमा बसोबास गरेको गरेको आधारमा राज्यले सुकुम्बासी वर्गीकरण गरी हामी ८१ घरपरिवारलाई परिचयपत्र दिएको रातमाटे टोल विकास संस्थाका अध्यक्ष राजु नेपाली बताउँछन्।
उनी भन्छन्, 'जसले आफ्नो जग्गाको हक भनी जिकिर गरेका छन्, उनीहरुले पनि जग्गाको आवश्यक प्रमाण भने देखाउन नसकेका कारण जग्गा हडप्ने नियत मात्र देखिन्छ।'
२५ वर्षसम्म आफ्नो जग्गा हो भने खोजी गरिएन तर अहिले संक्रमण कालमा जग्गा हडप्नकै निम्ति सुकुम्बासीप्रति अन्याय गरिएको अखिल नेपाल सुकुम्बासी संघका प्रदेश संयोजक अर्जुन मल्ल बताउँछन्।
निहित स्वार्थका भरमा केही अराजक जत्थाले बिनाआधार र बिनाप्रमाण बस्तीमा प्रवेश गर्ने गरी ज्यानै लिनसम्मका धम्की दिने काम भएको सुकुम्बासी संघका जिल्ला अध्यक्ष हर्कमान विकले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।