काठमाडौं– उपाधि होडमा रहेको थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ।
बुधबार हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ चरणको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो। सरस्वती क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो। थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक एक गोल गरे । सरस्वतीका भिक्टरले एक गोल गरे।
खेलको चौथो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको १७ मिनेटमा थ्री स्टारका रञ्जित धिमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
३६ मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए। दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल थ्री स्टारले २–१ जित्यो। जितसँगै थ्री स्टारले लिगमा छ खेलबाट १५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँगको अङ्क दुरी तीनमा झार्न समेत सफल भएको । सरस्वती भने सात सात अङ्कका साथ आठौँ स्थानमा छ।
दिनको अर्को खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गरेको छ। खेलमा सुरुवाती अग्रता हिमालयन शेर्पाल लियो। शेर्पाका लागि त्रिदेश गुरुङले खेलको १५ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा १–० ले पछि परेको च्यासलले दोस्रो हाफमा २ गोल गर्दै खेल उल्टायो। च्यासलका लागि खेलको ५६ मिनेटमा सन्तोष साहुखलले बराबरी गोल फर्काए। ७३ मिनेटमा शेर्पाका लागि निरज बस्नेतले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा च्यासलले अग्रता लिएको थियो।
जितसँगै च्यासल ६ खेलबा६ ७ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा भने १० अंक जोडेर छैटौं स्थानमा छ।
तस्बिर : एन्फा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।