ललितपुर– ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ। महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती राखेको हो।
कुपण्डोलको उकालोे बाटो, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरेको महानगरले जनाएको छ।
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आमनगरवासीको समस्याप्रति महानगरपालिका सधैँ चिन्तित रहेको बताए। महानगर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या अन्त्य गर्न महानगरले बत्तीको व्यवस्था गरेको उनले बताए। उनले भने, 'यो कामलाई महानगरले निरन्तरता दिँदै जानेछ।'
दिनहुँ बढेको सवारी चाप व्यवस्थापनमा बत्तीले सहयोग गर्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।
ट्राफिक व्यवस्थापनमा देखिएको समस्या अन्त्य गर्ने महानगरको योजना रहेको उनले बताए। उनले भने, 'सडक बत्ती राख्ने तथा ठाउँठाउँमा ट्राफिक लाइट राख्ने काम भइरहेको छ।'
महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पुल्चोकदेखि कुपण्डोलसम्म विभिन्न स्थानमा ‘स्मार्ट बत्ती’ समेत जडान गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।