नेपालगञ्ज– नेपाल नेत्रज्योति संघअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ।
अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ। अस्पतालमा विभिन्न समयमा अलग/अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच तथा ३ सय ८४ जनाको शल्यक्रिया गरेको बर्माले जानकारी दिए।
सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ।
'आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी थालेका छौँ', संघका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले भने। विसं २०४३ फागनुमा १० शय्याबाट सेवा सुरु गरेको सो अस्पताललाई हाल २ सय ५० शय्यामा विस्तार गरिएको छ।
अस्पतालले पूर्णकालीन ओपीडी, पेइङ क्लिनिक, द्रुतगतिमा शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ। संघका सचिव शान्ति श्रेष्ठले भारतीय दूतावासको ५ करोड तथा जिल्ला समन्वय समितिको परिपूरक सहयोग १ करोड ४५ को लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजीकक्ष, चिकित्सक आवासलगायत संरचना निर्माण गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।