म्यानचेस्टर– इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले लगातार जित निकाल्ने क्रममा वाटफोर्डलाई पराजित गरेको छ। सिटीले मंगलबार राति भएको खेलमा वाटफोर्डमाथि २–१ को जित निकाल्यो।
सिटीका लागि लिरोए सानेले खेलको ४० मिनेटमा पहिलो गोल गरेका थिए। रियाद महारेजले ५१ मिनेटमा अर्को गोल थपेपछि सिटी सहज अवस्थामा देखिएको थियो।
खेल सकिन ५ मिनेट बाँकी छदा डोकाउरेले वाटफोर्डका लागि गोल गरे। उनको गोलसँगै सिटी दबाबमा आएको थियो। जितसँगै लिगको शीर्ष स्थानमा रहेको सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको १४ खेलबाट ३६ अंक छ। चेल्सी १४ खेलबाट ३१ अंक जड्दै तेस्रो स्थानमा छ भने चौथो स्थानको आर्सनल र पाँचौ स्थानको टोटनह्यामको ३०-३० अंक छ।
मंगलबार हात पारेको जितसँगै सिटीको गोल अन्तर +३८ पुगेको छ। सुरुवाती १५ खेलबाट धेरै अन्तरको गोलअन्तर बनाएउने सिटी सन् १९९३ पछि पहिलो क्लब बन्यो।
सिटी प्रिमियर लिगमा २१ खेलमा अपराजित छ। गत सिजनको समेत गरी सिटीले पछिल्ला २१ खेल मध्ये १८ खेलमा जित र ३ खेलमा बराबरीमा रोकिएको थियो। सिटी पछिल्लो पटक गत अप्रिलमा म्यानचेस्टर युनाइटेडसँग ३–२ ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।