जाजरकोट- अधिकांश ठाउँमा तिहारको माहौल देखिए पनि जाजरकोटको एक गाउँ भने यतिबेला सुनसान छ । बारेकोट गाउँपालिका–४ लैखममा सुनसान देखिएको हो।
लैखम नजिकैका गाउँहरुमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको समूह आए पनि लैखम गाउँमा भने कोही आउन मान्दैनन् । महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाइने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले लैखम गाउँमा देउसी-भैली खेल्ने युवायुवती आउन नपाउने विगतदेखिको परम्परा रहेको लैखमका जयबहादुर खत्रीले बताए।
महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो अन्त्य वा मार्ने गरिन्छ । भैलो मार्दा बेहुला, बेहुली बनाई कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्न जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शक पुग्ने गर्छन्।
गाउँमा रमाइलोका लागि नभई देवतालाई खुसी बनाउन महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ । यो पर्व मनाउन छाडेमा महादेवले हानि गर्ने भएकाले आफूहरुले यसलाई निरन्तरता दिँदै आएको स्थानीयवासी बताउँछन्।
लैखमका प्रत्येक घरबाट भैलो मनाउन रकम र चामल संकलन गरिन्छ । बाटोमा हिँड्ने यात्रुबाट पनि रकम उठाउने गरिन्छ । यात्रुले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाई दिने चलनसमेत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।