काठमाडाैं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताएका छन्।
कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचाका बारेमा छलफल गर्दै मेयर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी गरे।
मेयर शाक्यले कमल पोखरी मात्र नभई महानगरभित्र रहेका अन्य पोखरी र पार्कलाई पनि व्यवस्थित र हरियालीयुक्त बनाउने बताए।
काठमाडौंका संघीय सांसद गगन थापा, प्रदेश सांसद नरोत्तम वैद्यलगायतसँगको छलफलमा मेयर शाक्यले महानगरपालिका सहरी सौदर्य बढाउने अभियानमा जुटेको पनि बताए।
उनले काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने दाबी गरे।
सांसद गगन थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागिपर्ने बताए।
‘नगर प्रमुखलाई सबैभन्दा पहिला धन्यवाद,’ थापाले कमल पोखरी निर्माणको ढाँचा हेरेपछि भने, ‘हामी महानगरपालिकासँग मिलेर काम गर्न तयार छौं। अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।