काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि संकटा क्लबले जित हात निकालेको छ। मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको दोस्रो खेलमा संकटाले पुलिसमाथि २–१ को जित निकालेको हो।
उपाधि होडमा रहेको संकटा ६ खेलमा पाँचौ जितसहित १५ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गोलअन्तरम अघि रहेको शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको पनि १५ नै अंक छ। मनाङले १ खेल कम खेलेको छ।हारपछि उपाधि होडमा कमजोर बन्दै गएको पुलिसले चौथो स्थानमा उक्लने मौका गुमायो।
खेलको २९ मिनेटमा संकटाले सरोज दाहालले हेडमार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए। कर्नर बलमा उनले गरेको हेडरलाई रोक्न पुलिसका डिफेन्डर सफल हुन सकेनन्।
३७ मिनेटमा संकटाले अग्रता दोब्बर पार्यो। संकटाका लागि दिपेश आलेमगरले दोस्रो गोल गरेका थिए। म्याक्सवेलको थ्रो बलमा आलेले पुलिसका २ डिफेन्डर र गोलकिपरलाई छलाउँदै बललाई जाली चुमाएका थिए।
३ मिनेट पछि पुलिसले गोल फर्कायो। अभिषेक रिजालले डिबक्स भित्र दिएको पासमा रविशंकर पासवानले उत्कृष्ट गोल गरेका थिए।
पहिलो हाफमा ३ गोल भएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन। खेलमा पुलिसले संकटा माथि दबाब बनाइराखे पनि फिनिङमा भने पटक पटक चुकेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।