इटहरी– भ्रष्टाचारमा संलग्न भएको भन्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विभिन्न शिर्षकमा करोडौं रकम भ्रष्टाचार गरेको ठहर गर्दै उजुरी परेको हो।
जागरुक नागरिक दबाव समूहले अख्तियर दुरुपयोग अनुसन्धान अयोगको कार्यालय इटहरीमा उजुरी दर्ता गराएको हो।
चुनावको बेलामा गरिएको खर्च असुल्ने र त्यसको फाइदा लिने काममा मात्र जनप्रतिनिधि सहभागी भएको भन्दै उजुरी दिएको दबाव समूहका सह संयोजक दिनेशकुमार लम्सालको भनाइ छ। पेश्की नै लिन नपाउने अवस्थामा पनि जनप्रतिनिधिले ठूलो रकम पेस्की लिएको पाइएको उनी बताउँछन्।
नगरपालिकाले टेन्डर आह्वान नगरी खरिद ऐन र नियमावलीविपरीत मेयरको आदेशको भरमा ठूला योजना सञ्चालन गरेको भन्दै उजुरी हालेको लम्सालले जानकारी दिए।
दर्ता नम्बर १६२६ मा दर्ता भएको उजुरीमा मेयर मेहताले आर्थिक पक्ष मात्र नभई सामाजिक रूपमा पनि तानाशाही व्यवहार देखाउन थालेको दाबी गरिएको छ। प्रचलित आर्थिक नियमावली मात्र होइन न्यायिक क्षेत्रबाट आएका आदेशलाई समेत मेयर मेहताले नमानेर न्यायिक केन्द्रको मानहानी गरेको निवेदनमा उल्लेख गरिएको छ।
‘नगरपालिकाले मेयरको हवाला दिँदै कार्यालयले सूचना लुकाउने गरेको छ।,’ लम्सालले भने, ‘सूचना आयोगले सूचना दिन निर्देशन गर्दासमेत नगरपालिकाले बेवास्ता गर्ने गर्छ।’
मौलिक हकअन्तर्गत कार्यालयको खर्चसम्बन्धी सूचना पनि मेयरकै निर्देशनमा उपलब्ध नगराएको निवेदनमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०७४/०७५ र चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा खरिद गरिएका सवारी साधन, मेसिनरी सामान, सूचना प्रविधिका सामानको खरिद प्रक्रिया, सोको बिल भर्पाइलगायत विषय लुकाएपछी निवेदन दिएको लम्सालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।