सिक्लेस- माओवादी 'जनयुद्ध'को करिब अन्तिम समय। सिक्लेस मात्र नभएर सम्पूर्ण देश नै त्रसित थिए। माओवादीका शीर्ष नेतासँग सिधै बातचित हुनु त परको कुरा नामै सुनेर पनि थर्कमान हुने अवस्था थियो। यस्तो बेला माओवादी र सरकार पक्षबीच वार्ता हुँदै थियो।
भूमिगत आन्दोलन छाडेर माओवादी पार्टी कास्कीको सिक्लेसमा पहिलो पटक सार्वजनिक भयो। २०६३ असार २ गते माओवादीका शीर्ष नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराई त्यहाँबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग वार्ता गर्न बालुवाटार उडेका थिए। प्रचण्ड र बाबुरामलाई लिन आएका थिए, गृहमन्त्री कृष्णप्रसाद सिटौला।
त्यतिबेला सिक्लेसमा दुवै पक्षबीच वार्ता गर्न सहजकर्ताको भूमिका निर्वाह गरेका थिए, ८२ वर्षीय भद्रसिंह गुरुङले।
000
चाउरिएका गाला र थरथर्राहट हिँडाइबीच अहिले पनि गुरुङ खुलेरै कुरा गर्छन्। भर्खर भारतीय सेनाबाट ‘रिटायर्ड’ जीवन बाँच्न गृहस्थान फर्किएका उनी माओवादी र सरकार पक्षबीचको युद्ध चपेटामा परे। गाउँमा अलि टाठोबाठो र निर्भीक उनै थिए। सबै माओवादीको त्रासमा थिए। उनी भने ‘मरेँ पनि मरुँला’ भन्दै बाहिर निस्किएका थिए। अहिले गर्वसाथ भन्छन्, ‘ज्यानको बाजी लगाएर सेनाको जागिर खाएको थिएँ। मर्नलाई त के को डर?’

पहिलोपटक प्रचण्ड गाउँमा आएको थाहा पाएर फूलमालासहित भेट्न जाँदा उनीहरु नभेटिएको गुरुङ सम्झन्छन्।
‘जेठको अन्तिम महिनातिर तुँवालो लागेको थियो। गाउँमा उनीहरु आएको थाहा पाएँ। फूलमाला लिएर स्वागत गर्न गएको कता हराए थाहा भएन,’ उनी प्रचण्ड र बाबुरामसँगको पहिलो भेटबारे सम्झन्छन्, ‘पछि पो थाहा भयो। उनीहरु त माथि घर पो आइपुगेका रहेछन्।’ अहिलेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को भवनमा माओवादी नेता बास बसेको उनले सुनाए।
एक्याप अफिस पहिल्यै बनेको थियो। त्यसमा कर्मचारी पनि नभएका होइनन् तर माओवादी कार्यकर्ताले सबैलाई त्यहाँबाट लखेटे। गुरुङका अनुसार त्यहाँ भएका कागजपत्रसमेत बाहिर ल्याएर जलाएपछि मात्रै प्रचण्ड र बाबुराम बास बसेका थिए। ‘त्यहाँ बस्दा उनीहरुलाई आवश्यक पर्ने लुगा र ओड्ने/ओछ्याउने मैले नै व्यवस्था गरेको थिएँ,’ गुरुङ भन्छन्।

तत्कालीन माओवादी नेताहरु शान्ति प्रक्रिया क्रममा सार्वजनिक हुन सिक्लेस आएको भन्ने कसैलाई थाहा थिएन। गुरुङलाई पनि थाहा हुने कुरा भएन। माओवादीहरु त्यहाँ बस्दासम्म सम्पूर्ण गाउँलेले त्रासको जीवन बिताए। भन्छन्, ‘हामी कसैलाई माओवादी वार्ता गर्न यहाँ आएको भन्ने थाहा थिएन। ‘१० दिन बस्छौं’ भनेका थिए। ८ दिनमै फर्किए।’ बस्ने समयभन्दा पहिले नै किन फर्किए भन्नेबारे भने उनी अनभिज्ञ छन्।
ती नेताहरुले गाउँलेलाई कहिले एउटै मात्रामा खानाको 'अर्डर' नदिने गरेको गुरुङको तितो अनुभव छ। ‘कहिले ४ जनाको भन्थे कहिले १० जनाको। पकाएन भने थर्काउँथे,’ उनी सुनाउँछन्।
उनीहरुलाई चाहिने काठदाउरा नजिकैको जंगलबाट गाउँलेले नै काटेर ल्याइदिन्थे। गाउँको तीन क्षेत्रमा माओवादी कार्यकर्ता तैनाथ भएर बसेका हुन्थे। गुरुङ मात्रै उनीहरुका भरपर्दा मान्छे भएकाले प्रचण्ड र बाबुरामसम्म पुग्ने बाटो खुल्ला थियो।
मलाई बा भन्थे
भद्रसिंह गुरुङको नजरमा प्रचण्डभन्दा बाबुराम असल थिए। ‘भन्न त दुवैले मलाई बा भन्थे। तर प्रचण्डभन्दा बाबुराम असल कुरा गर्थे,’ उनी सम्झन्छन्।
त्यतिबेला गाउँमै रहेको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष थिए गुरुङ। हुलाक प्रतिनिधि, गाविसका सचिव नभएकाले त्यसको पनि जिम्मेवारी सम्हालेका थिए। गाउँका सबै मान्छे त्रसित अवस्थामा रहेकाले उनलाई सबैतिर भ्याइनभ्याई थियो।
गुरुङलाई माओवादीले नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएका थिए। उनीहरु नै लागेर त्यहाँका विद्यार्थीलाई पढाउन थाले। उनी अध्यक्ष हुँदा दुई वर्षसम्म स्कुलको एसएलसी नतिजा शून्य थियो। ‘म अध्यक्ष भएपछि गाउँलेहरुले ‘स्कुल अझै बिग्रिने भो’ पनि भनेका थिए। तर त्यही वर्ष नै पाँच जना विद्यार्थी पास भए,’ उनी भन्छन्, ‘पढ्नु भनेको एसएलसी पास गर्नु पो रहेछ। पछि धेरैले पास गर्न थाले। त्यहाँ मैले ६ वर्ष कार्यकाल सम्हालेँ।’ स्थानीय अम्बर गुरुङ र जितबहादुर गुरुङले पनि उनलाई चिन्ने र सबैले ‘बा’ भन्ने गरेको बताए।

ठूला मान्छेलाई 'डाउन' गरे
गाउँमा ठूला मान्छेको रवाफ अर्कै हुन्थ्यो। माओवादी भूमिगत भएर संघर्ष थालेको पनि त्यही विषयमा समानता हुनपर्छ भन्ने थियो। सिक्लेसमा पनि उनीहरुले त्यही कुराको अभ्यास गरेका थिए। त्यस कार्यलाई भने गुरुङ सकारात्मक मान्छन्।
‘माओवादीले त राम्रो गरेको हो नि, त्यसको क्षतिपूर्ति तिर्दातिर्दा गाउँलेलाई नै हैरान बनाएर पो त,’ गुरुङ भन्छन्।
गाउँमा भएका अन्य पार्टीले विकास कार्य गर्न नसक्दा नै माओवादी भित्रिएको उनको कथन छ। ‘राप्रपाले कुरा टुंग्याउनै सकेन। कांग्रेसले गोजीमा हालेर खर्चै गरेन। एमाले मान खोजेर हिँड्यो,’ गुरुङ भन्छन्, ‘गाउँका मान्छेले माओवादीलाई तलब बुझाउँदाबुझाउँदा केही गर्न सकेनन्। माओवादी त्यतिबेला सबै ठूलामान्छेलाई ‘डाउन’ गरिदियो।’
माओवादी र विपक्षबीचको गुरुङको एउटा राम्रो सम्झना छ। त्यतिबेला माओवादीले गाउँकै प्रधानपञ्चलाई बैठकमा बोलाएका रहेछन्। तर, उनी आइदिएनन्। पछि उनको घरका सबै भाँडा गायब पारिदिएछन् माओवादीले। ‘बैठकमा आऊ भनेर राम्रैसँग सम्झाएर भनेको थिएँ। आएन। पछि उसको घरको सबै सामान कताकता लगिदिएछन्,’ उनी हाँस्दै पुरानो दिन सम्झन्छन्।
क्षतिपूर्ति बेहोरेँ
माओवादी त्यहाँ बस्दासम्म भद्रसिंहको पनि रवाफ बढ्यो। माओवादीले अह्राएका काम मनले वा बाध्यताले भए पनि सबै गरे। पछि उनीहरु फर्किएपछि भने गुरुङमाथि केरकार सुरु भयो। ‘माओवादीले यहाँ बसेको बेला पुर्याएको नोक्सानको मैले क्षतिपूर्ति तिर्नुपर्ने भो,’ उनी सुनाउँछन्।
माओवादीलाई चाहिले काठदाउरा नजिकैको वनबाट ल्याउने गरेका थिए गाउँलेले। त्यो वन ‘एक्याप’ क्षेत्रभित्र पर्थ्यो। त्यसैको क्षतिपूर्ति तिर्ने गुरुङको पोल्टामा आयो। त्यसबाहेक माओवादी कार्यकर्ताले प्रयोग गरेको हराएको लुगाफाटाको क्षति पनि उनैले तिर्नुपर्ने भयो।

गुरुङ पर्समा राखिराखेको पुरानो रसिद देखाउँदै भन्छन्, ‘मैले एक हजार रुपैयाँ क्षतिपूर्ति तिरेँ। गाउँलेले नहराएको कपडा पनि हरायो भन्दै क्षतिपूर्ति माग्न आए।’ त्यसबेला भएको नोक्सानको अन्य क्षतिपूर्ति भने स्थानीय आमा समूहले तिरेको उनी बताउँछन्।
भांग्रा लगादिएँ, बख्खु ओढाइदिएँ
माओवादी र सरकार पक्षबीच वार्ता हुने भयो। हेलीमा चढेर तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला सिक्लेस आए। हेलिकप्टर अवतरण भएको ठाउँ देखाउँदै गुरुङले भने, ‘गृहमन्त्री सिटौलालाई लिन म तलै पुगेँ।’
तर गाउँलेलाई थाहा थिएन, को आएको भन्ने। तर गुरुङले सूचना पाएका थिए। केही समय उनीहरुबीच वार्ता भयो। थप सहमतिका लागि माआवादी शीर्ष नेता काठमाडौं जानुपर्ने भयो। सबै गृहमन्त्रीकै हेलीमा चढ्न हिँडे।
‘मैले नै सबैलाई बिदाइ गर्न हिँडेको थिएँ। प्रचण्ड र बाबुरामलाई भांग्रा लगाइदिएँ, बख्खु ओढाइदिएँ,’ गुरुङ माओवादी प्रधानमन्त्रीसँग वार्ता गर्न उडेको दिन सम्झन्छन्, ‘१० वर्ष जंगलमा लुकेका मान्छेहरु बाहिर आउँदा त खुसीले पो हो लगाइदिएको तर यहाँका जनताले 'त्यो माओवादीले तँलाई के दिएको छ र लगाइदिएको' पनि भने।’
वार्ता गर्न काठमाडौं आउनुअघि बाबुराम र प्रचण्डलाई गुरुङले ‘प्रधानमन्त्री हुनुस्, शासन चलाउनुस्, ठूलो मान्छे हुनुस्’ भनेर आशीर्वाद दिएका रहेछन्। हेलीमा चढ्नुअघि गुरुङसँग एउटा वाचा गरेका थिए, ‘तपाईंको सिक्लेसलाई हामी स्विट्जरल्यान्ड बनाइदिन्छौं।’
सिटौलाको साथ लागेर बाबुराम र प्रचण्ड असार २ गते काठमाडौंका लागि उडे। त्यसपछि अहिलेसम्म उनीहरु फर्किएनन्, न त सिक्लेस स्विट्जरल्यान्ड नै भयो।
प्रचण्डलाई प्रश्न
गुरुङले नै शान्ति प्रक्रियामा जान सिक्लेसबाट खुल्ला गरिदिएका प्रचण्ड र बाबुराम दुवै प्रधानमन्त्री भए। शासक भए। तर देशको अवस्था फेरिएन। बरु उनीहरु नै फेरिए। उनीहरु फेरिए पनि ती नेताले आफूलाई अझै चिन्ने कुरामा गुरुङ विश्वस्त छन्। उनलाई लाग्छ, ‘घर परिवार सम्हाल्न त गाह्रो छ। देश सम्हाल्न गाह्रो त भइहाल्छ नि।’
गुरुङ अहिलेसम्म सिक्लेस नफर्किएका दुवै नेता एकदिन जरुर फर्किनेमा पनि ढुक्क छन्। भन्छन्, 'एकदिन जरुर आउनेछन्।'

अब २४ मंसिरमा प्रचण्ड सिक्लेस आउँदैछन्। उनी सार्वजनिक भएको सम्झनामा सिक्लेसमा मादी गाउँपालिकाले शान्ति स्तम्भ तयार गरेको छ। भद्रसिंहको आँगनको डिलमुन्तिरै बनेको छ स्तम्भ।
प्रचण्डसँग फेरि भेट हुनेमा आशावादी मात्रै होइन आफूलाई अझै चिन्ने कुरामा गुरुङ विश्वस्त छन्। भन्छन्, ‘प्रचण्डलाई एउटा प्रश्न सोध्नेछु। बाबुऽ खोइ त हाम्रो सिक्लेसलाई स्विट्जरल्यान्ड बनाएको?’ यति भन्दाभन्दै पनि भद्रसिंह फेरि मुस्कुराए। भन्न भ्याइहाले, ‘घर परिवार सम्हाल्न त गाह्रो छ। देश सम्हाल्न गाह्रो त भइहाल्छ नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।