काभ्रेपलाञ्चाेक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका ईटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालोलाई तत्काल हटाउनुपर्ने बताएका छन्।
नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भने, ' ईटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेकाले यसलाई तत्काल हटाउनुपर्छ।'
ईटाभट्टाको विषयमा तत्काल छानबिन गरी मानव बस्तीबाट हटाउन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन समेत दिए।
उनले मानवबस्तीबाट टाढा ईटा उद्योग टाढा राख्न आग्रह गर्दै सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री बाँस्कोटाले कोसी नदीको बगर तथा बीचमा भएका क्रसरको पनि तत्काल छानबिन गरी कारबाही गर्न स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिए।
उनले भने, 'हाम्रो प्रकृति र समाज सके राम्रो बनाउनुस् नसके नबिगार्नुस्।' मन्त्री बाँस्कोटाले सबै क्षेत्रका बेथिति नियमन गर्न लागेको बताउँदै मुलुकमा भइरहेका घटनामध्ये ९२ प्रतिशत चिनेजानेका र आफन्ताबाटै भएको बताए।
'महिला हिंसा घटनाका ९५ प्रतिशतलाई कानुनी दायारमा ल्याइएको छ, बाँकी ढिलोचाँडो कठघरामा ल्याएरै छाड्छौँ', उनले भने, 'आउँदो सन् २०२१ सम्ममा सबै नेपालीका घरमा आधारभूत खानेपानी उपलब्ध गराउने सरकारको नीति छ।'
मन्त्री बाँस्कोटाले 'यो बुलेटबाट होइन, ब्यालेटबाट आएको सरकार हो, त्यसैले चुनावमा बोलेका वाचा सबै पूरा गर्छौं' भन्दै निकट भविष्यमै सरकारले ४८ वटा ठूला परियोजनाको उद्घाटन र शिलान्यास गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।