काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री बिना मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
विकास तथा प्रविधि समितिको सदस्य समेत रहेका वरिष्ठ नेता खनालले समितिको आइतबारको बैठकमा मन्त्री मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। उनले समितिको बैठकमा बोल्दै संसद र संसदीय समितिलाई हल्का रुपमा नलिन पनि मन्त्री मगरलाई सचेत गराए।
मेलम्ची खानेपानी लगायत सरकारका योजनाबारे जानकारी लिन विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री मगरलाई बोलाइएको थियो। तर, उनको उपस्थिति नभएपछि समितिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।
कार्यपालिका र व्यवस्थापिकाको सम्बन्धलाई सुमधुर बनाउन पनि संसदीय समितिको बैठकमा मन्त्रीहरु अनिवार्य उपस्थित हुन उपयुक्त हुने वरिष्ठ नेता खनालको तर्क छ।
वरिष्ठ नेता खनालले सरकारले खानेपानी व्यवस्थापनका लागि आवश्यक भिजन ल्याउन नसकेको भन्दै चिन्ता व्यक्त गरे। बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले पनि बैठकमा खानेपानी मन्त्री मगर उपस्थित नभएकोमा आपत्ति जनाए।
उनले मन्त्री उपस्थित नभए यस्ता बैठक स्थगित गर्न पनि सभापति कल्याणी खड्काको गम्भीर ध्यानाकर्षण गराए। मन्त्री मगरले दसैंअघि नै मेलम्चीको पानी काठमाडौंमा आउँछ भनेर झुटा आश्वासन दिएकोमा कांग्रेस सांसद विष्टको आपत्ति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।