काठमाडाैं– नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थालिने भएको छ।
विश्व हिन्दु महासंघको आयोजनामा जनकपुरमा सम्पन्न प्रदेश स्तरीय विराट सन्त सम्मेलनबाट हिन्दु धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने तथा नेपाललाई हिन्दु राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दु यूवा परिषदका प्रवक्ता मिथुन साहले बताए।
सम्मेलनमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरी लगायत प्रदेश २ का ८ वटै जिल्लाबाट ५ हजार भन्दा बढी साधुसन्तको सहभागिता रहेको थियो ।
सम्मेलनले धर्मान्तर, छुवाछुत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह) सम्मका विषयमा छलफल गरी यस्तो निर्णय गरिएको बताइएको छ।
विश्व हिन्दु परिषद्का महासचिव जितेन्द्र सिंहले समाजमा जातपातका कारण छुवाछुतको अन्त्यको लागि समेत गम्भीर भएर लाग्नु पर्ने बताए।
समाजमा बढ्दो विकृतिसँगै धर्म र अध्यात्मप्रतिको आस्था कमजोर भएकै कारण लभ जेहाद जस्ता विसंगति मौलाएकाले सबै साधु सन्त, महन्त र समाजका अनुयायीहरु एक भएर अघि बढ्नुपर्ने डा. श्याम सुन्दर शास्त्रीले बताए।
सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले हिन्दु धर्मको रक्षाका लागि आफू सचेत र गम्भीर रहेको भन्दै जनकपुरधामलाई मासु र मदिरामुक्त घोषणा गर्ने तयारी भइरहेको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।