चितवन– पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झैं यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो।
क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगितासमेत आयोजना गरिने छ। सङ्घका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ।

यसपटक महोत्सवका क्रममा सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिनेछ। पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार गरी हात्तीलाई दबाव नभएर मनोरञ्जन दिँदै कार्यक्रममा सहभागी गराउन लागिएको अध्यक्ष घिमिरेले बताए। पशु अधिकारकर्मीले हात्तीलाई दबावमूलक काम लगाएको भन्दै विरोधसमेत गरेका थिए।
स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ। प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ।
भूूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकका कारण सुस्ताएको यहाँको पर्यटन व्यवसाय यस वर्ष उत्साहजनक देखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।