चितवन– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने बताए।
उनले भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई धाँधली गरेर हराइएको आरोप समेत लगाए।
एमालेविरुद्ध अनेक मोर्चाबन्दी भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता कुनै मोर्चाबन्दीले कुनै असर पार्न नसक्ने बताए।
उनले विद्यार्थीहरुलाई चुनाव केन्द्रीत एजेण्डामा छलफल गरेर आउँदो निर्वाचनमा जुट्नसमेत निर्देशन दिएका छन्।
एमाले देश बनाउने संकल्पका साथ लागेकाले राष्ट्रिय समृद्धिका लागि एमालेमा समाहित हुन सबैलाई आग्रह गरे। अबका निर्वाचनपछि देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँगै देश समृद्धितर्फ अगाडि बढ्ने भन्दै उहाँले यो सबैको नेतृत्व एमालेले गर्ने उनको भनाई छ।
एमाले सहअस्तित्व, सद्भावना र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै शान्ति विरोधीहरुको प्रतिवादमा पनि पार्टी जुट्ने बताए। सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई अबिर र माला लगाएर स्वागत गरेका थिए।
अनेरास्ववियूका अध्यक्ष नवीना लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले नेता रवीन्द्र अधिकारी, जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए।
तीन दिनसम्म चल्ने बैठकमा देशभरका ५०० प्रतिनिधि, १०० पर्यवेक्षक र १०० स्वयंसेवक सहभागी छन् । सहभागीलाई कार्यकर्ताको घरघरमा राख्ने व्यवस्था गरिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।