काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न केन्द्रीय कार्यसमिति र महासमितिको बैठकमा एकै आवाज बनाउने तयारी गरेको छ। कांग्रेस नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा आज भएको 'लन्च मिटिङ'मा नेताहरुले पार्टी संस्थापन पक्षको विरोध गरेका थिए।
_x000D_
_x000D_
विधानमा फरक मत राखेको इतर समूहले १३ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा राख्ने समान धारणाबारे तयारी सुरु गरेको हो। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल नजिकका नेताहरुको बैठक भए पनि यसपटक कोइराला निवासमा तेस्रो धारका नेताहरु पनि सहभागी थिए।
_x000D_
_x000D_
बैठकमा कृष्णप्रसाद सिटौला धेरै समय बोलेनन्। उनले विधानका बारेमा केन्द्रीय समितिमा आएका सबै विचार सुनेर सामूहिक धारणा बनाउनुपर्ने बताए।
_x000D_
_x000D_
नेता गगन थापा र प्रदीप पौडेलले पार्टी सञ्चालन पद्धति र विधानका विषयमा बोलेका थिए। युवा नेता थापाले एकातिर दुई तिहाइको दम्भ र अर्कोतिर पार्टीमा देउवाको बहुमतले समस्या उत्पन्न भएको आरोप लगाए। जनता सरकारसँग निरुत्साहित भएको बताउँदै उनले कांग्रेसको नेतृत्वसँग थप वितृष्णा जागेको बताए।
_x000D_
_x000D_
अर्का नेता प्रदीप पौडेलले सभापतिलाई २५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधानले सभापति थप निरंकुश बन्ने धारणा राखे।
_x000D_
_x000D_
पार्टीको आन्तरिक कारणलाई जग्गा मुद्दाको उदाहरण दिँदै बलबहादुर केसीले भने, 'मुद्दा हामीले जित्यौं, तर जग्गा शेरबहादुरजीको भयो।'
_x000D_
_x000D_
नेता अर्जुनरसिंह केसीले पार्टी एकबद्ध हुनका लागि आफूले जुनसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता जनाए। केन्द्रीय सदस्य गुरुराज घिमिरेले कुनै नेताको कुण्ठाले महासमिति बैठक फेरि सर्ने आशंका राखेका थिए।
_x000D_
_x000D_
महामन्त्री डा शशांक कोइराला, वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य डा शेखर कोइराला उपत्यकाबाहिर रहेकोले उपस्थित हुन नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।