केही समयको विदेश बसाइपछि अन्ततः आफूभित्रका आवाजहरूलाई पछ्याउँदै म स्वदेश फर्किएँ।
_x000D_
_x000D_
सात वर्ष पुगिसकेको रहेछ। मलाई आफ्नै गाउँजस्तो लाग्ने काठमाडौं अलि फरक भएछ। म अलि हराएँ। बिरानो भएजस्तो, आफ्नै सहरमा अलपत्र परेजस्तो। बाटाहरू अलि फराकिला भएछन्। महँगी धेरै फराकिएछ। मान्छेहरूको सोच पनि अलि भिन्नझैं लाग्यो।
_x000D_
_x000D_
रेस्टुरेन्टका लहर, जताजतै। च्याउजस्ता टहरा पनि रेस्टुरेन्ट नै पाएँ। आफ्नै देशमा मलाई पर्यटकजस्तो अनुभव भइरहेको थियो। तैपनि यात्रा त गर्नैपर्यो, गन्तव्य पुग्नैपर्यो।
_x000D_
_x000D_
माइक्रोबसमा यात्रा गर्दा लाग्यो, सिन्की खाँद्नुपर्यो भने पनि अलि मायाले खाँदिन्छ होला कमसेकम खाने चिज हो भनेर। तर, माइक्रोमा मैले खाल्डोमा सिन्की खाँद्ने मानिसले सिन्कीलाई गर्ने जति पनि व्यवहार गरेको पाइनँ। यस पटक सफा टेम्पो देखियो। सफा टेम्पो देख्नेबित्तिकै छोरीले ठट्टा सुरु गरिन्। 'भिइँइँइँ', नाके स्वर निकालेर। 'उनी पनि कलाकार नै हुने भइन्,' मैले मनमनै सोचेँ। भित्रभित्रै मुस्काएँ पनि। अरू यात्रुका नजरहरू हामीतिर तेर्सिए।
_x000D_
_x000D_
बाँकी विकल्प रह्यो साझा बस।
_x000D_
_x000D_
नेपालको पूर्वथेगो- 'हरियो वन, नेपालको धन।' याद दिलाउने रङमा सजिएको। हात्तीभन्दा ठूलो। हलुवाई पसलको जेरी झान्ने मोटे दाइजस्तो फरासिलो देखियो साझा बस।
_x000D_
_x000D_
किलिन्डर दाजुले छिटो आउन भन्दै थिए। तर बस अझै चलिरहेकै थियो, रोकिइसकेको थिएन। हस्याङफस्याङ गर्दै दौडिएँ। तैपनि अझै टाढै रहेछु। हिन्दी फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे' को 'क्लाइमेक्स सिन' याद गर्ने बेला होइन त्यो। काल्पनिक राजले मभित्रको सिमरनलाई जसोतसो बस चढायो। केही समय त सजिलै बित्यो। छोरीलाई निरगानी गर्नु पनि थियो। उनी त मज्जाले इन्जिनमाथि बसेर किलिन्डरसँग गफ चुट्दै रहिछिन्।
_x000D_
_x000D_
सस्तो। सरल मात्रै होइन, लोकप्रिय पनि उतिकै भएछ साझा बस। भित्रपट्टि फराकिलो पनि भएकाले उभिनै परे पनि यात्रुले आरामदायक मान्दा रहेछन् अरु बस तथा माइक्रो बसका तुलनामा। तर विकसित देशका सार्वजनिक सवारी साधनसँग तुलना गर्ने हो भने त्यत्ति आरामदायक भन्न मिल्ने विशेषता भने छैनन् साझामा पनि। चालकले बेस्सरी हुइँक्याए र बाटो पनि गर्ल्याङगुर्लुङ पर्यो भने यात्रुको सास्ती थपिने। तैपनि सास फेर्न ठाउचाहिँ पुग्ने रहेछ सबैलाई।
_x000D_
_x000D_

_x000D_
_x000D_
अलि लामै समय यात्रा गर्नु परे अरू यात्रुका गफ मजैले सुनिने। अझ जाम पर्यो भने त झन् कति हो कति। आफूले चाहे पनि नचाहे पनि। बस चढेको समयदेखि आर्लिनेसम्म कम से कम २० मिनेटको यात्रा त गरिन्छ नै। यति समयसम्ममा अरु यात्रुहरूको सहयात्री भइन्छ। धेरै किसिमको गफगाफ सुनिन्छ। एक दिनको कुरा हो, बस यात्राका क्रममा। म नजिकै मस्केर बसेकी एक जना युवतीलाई हिरो दाइ आएर सोधे, 'अनि बहिनीको घर कता नि?'
_x000D_
_x000D_
उतातिर दुई जना ठिटीहरू कुन्नि के-केका कुरा गरेर मस्किँदै थिए। खुसी मिस्सिएको उनीहरूको सुरिलो स्वर सुन्दा लाग्छ सायद बस कम्पनीले नै उनीहरूलाई त्यहाँ राखेको हो, अरु यात्रुलाई बोर नलागोस् भनेर। आँपको तितौराको झोल जस्तो उनीहरूका गफ।
_x000D_
_x000D_
साझा बस चढेका कोही पनि यात्रु हतारमा भएको मैले पाइनँ। सबै यात्रु आ-आफ्नै धुनमा मस्त, गर्मी समयको चर्को घाममा चिसो शेष नागमाथि लम्पसार परेर सुतेका विष्णुजीजस्तै।
_x000D_
_x000D_
'कस्तो गोरो, कुइरेको बच्चा हो?' एउटी यात्रुले मलाई सोधिन्।
_x000D_
_x000D_
बसभित्रको एउटा पोल च्यापेर म उभिएर यात्रा गर्दै थिएँ। किलिन्डरले बसको पछाडि बच्चा लिएर उभिएकी एउटी महिलालाई अगाडि आउनु भनेर बोलाए। अगाडि बसेको हृष्टपुष्ट लोग्नेमान्छेलाई उठ्न लगाए।
_x000D_
_x000D_
'म?' हृष्टपुष्ट दाजुले किलिन्डरलाई थर्काए।
_x000D_
_x000D_
एकछिनसम्म शान्त बनेको साझा बसका सबै यात्रु स्तब्ध भए। ५० जोरभन्दा बढी आँखाले एकसाथ नजर लागेकाले हो वा त्यो स्तब्धताले, कुनै जादुजस्तो अनुभव भयो एकैछिनमा। ती दाजु झगडा नगरी सभ्य नागरिकजस्तो चुपचाप उठेर ती तरुणी आमालाई सिट छोडिदिए। जादुको बाकस साझा बस। वाह!
_x000D_
_x000D_

_x000D_
_x000D_
म सही यातायातमा चढेछु। ती तरुणी आमा अब मक्ख थिइन् बस्न पाएकोमा। छेउमा थिए ६० कटेका एक जना बाजे। बाजेले दूधेबालकको हात समाएर खेलाउन थाले। हजारौं निजी प्रश्नहरू सोधिरहेका थिए ती आमालाई। ती आमाले पनि खुसीका साथ जवाफ फर्काइरहिन्। विदेशमा भएको भए नचिनेको मान्छेहरूले अरुको बच्चालाई छुँदैनन्। कसैलाई निजी प्रश्नहरू सोधिँदैन।
_x000D_
_x000D_
तर, यो नेपाल हो। यहाँको चलन यस्तै छ। यो मेरो घर हो।
_x000D_
_x000D_
सिधाअगाडि एक जना व्यक्तिसँग आँखा जुध्न पुग्यो। आँखामा गाजल लगाएको र पोल समाएका सर्लक्क परको औंलाले त केटीजस्तो। तर उभिएको तरिका, लुगा, ब्याग र आँखीभौंले चाहिँ केटाजस्तो।
_x000D_
_x000D_
समय काट्नु थियो। नानाथरी कुरा सोच्दै र सँगैको यात्रुलाई अवलोकन गर्नुबाहेक के गर्नु? फोनमा अघि नै ब्याट्री सिद्धिइसकेको थियो। दुई हप्ताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण फाराम भर्दा लिंग लेखिएको खण्डमा महिला, पुरुषसँगै 'अन्य' पनि देख्दा खुसीले गहभरि आँसु आएको थियो। कल्पनाको सागरमा चुर्लुम्म डुबिरहेकी मलाई किलिन्डको चर्को आवाजले झस्याङ्ग पार्यो।
_x000D_
_x000D_
'ए हिरोइन दिदी, पुल्चोक आयो, झर्नुस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।